काठमाडौं । महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू एमालेमा प्रवेश गरेका छन् ।
कांग्रेस, माओवादी, लोसपा परित्याग गर्दै एमालेमा प्रवेश गरेका उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज ओली निवास बालकोटमा एक कार्यक्रमकाबीच पार्टी प्रवेश गराएका थिए ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा सत्तारुढ गठबन्धनमा रहेका चर्चित जनप्रतिनिधिहरु नै एमाले प्रवेश गर्न थालेका छन् ।
नेकपा माओवादीबाट महोत्तरीको सम्सी गाउँपालिका अध्यक्ष निर्वाचत शेख फारुख एमाले प्रवेश गरेका छन् । उनीसँगै लोसपाबाट निर्वाचित जलेश्वर नगरपालिकाकी उपमेयर मनचुन देवी, महोत्तरी जिल्ला कमिटी सदस्य बिश्वेश्वर महतो पनि एमाले प्रवेश गरेका छन्।
यसैगरी नेपाली कांग्रेसका रामगोपालपुर नगरपालिका ४ का वडाध्यक्ष उमेश महतो, वडा नं ४ का वडाध्यक्ष जयनारायण मण्डल र लोहारपट्टी नगरपालिका ८ का वडाध्यक्ष रामबाबु यादव पनि एमाले प्रवेश गरे।
यस्तै माओवादी केन्द्रबाट निर्वाचित रामगोपालपुर नगरपालिका ८ का रामबिलास मण्डल आज बालकोट पुगेर एमाले प्रवेश गरेका हुन् ।
आज विहान उनीहरुलाई एमाले अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।