काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनावमा सहभागीता नलिने औपचारिक निर्णयसँगै बहिस्कार नगर्ने घोषणा गरेको छ।
स्थानीय चुनावलाई उपयोग गर्नुपर्ने महासचिव विप्लवको प्रस्तावको विरोधमा बहुमत देखिएपछि त्यसलाई परिमार्जन गरिएको छ। पार्टीले चुनावमा भाग नलिए पनि नेतालाई स्वतन्त्र हिसाबमा सहभागीता हुन छुट दिइएको छ।
यसअघि चुनावका समयमा उक्त पार्टीले विरोध गर्दै आएको थियो भने कतिपय ठाउँमा हिंसात्मक घटना पनि गराउँदै आएको थियो। तर, यसपटक विप्लव आफैंले चुनावमा भाग लिनुपर्ने प्रस्ताव लगेपछि नेता हेमन्तप्रकाश ओलीसहितले विरोध गरेका थिए।
‘चुनावमा हाम्रो पार्टी छ पनि छैन पनि भन्ने निर्णयका आधारमा अगाडि बढेका छौं’, एक केन्द्रीय सदस्य भन्छन्,‘पार्टीका नाममा हामी सहभागी हुनेछैनौं तर उम्मेदवार बन्नेलाई रोक पनि लगाइएको छैन। ऊ स्वतन्त्र उम्मेदवारका रुपमा चुनावमा सहभागी हुन सक्छ।’