शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रेणुलाई मेयरमा दोहोर्‍याउने प्रचण्डको चाहनामा चितवन कांग्रेसले पुर्‍यायो ठेस

शुक्रबार, चैत्र ११ २०७८

चितवन । नेकपा माओवादी अध्यक्ष ‘प्रचण्ड’ छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा दोहोर्‍याउन चाहन्छन् ।

प्रचण्ड भरसक देशभर सत्ता नेतृत्व गरिरहेको नेपाली कांग्रेससँग चुनावी तालमेलको पक्षमा छन् । नभएपनि कम्तिमा भरतपुरलगायत विशेष स्थानहरुमा तालमेल गरी धेरै स्थानीय तहहरुमा माओवादीबाट प्रतिनिधित्व गराउन प्रचण्ड कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग लबिङ गरिरहेका छन् ।

यसैबीच चितवन कांग्रेसले भने स्थानीय निर्वाचन २०७९ लक्षित गरी सबै वडामा प्रतिनिधि खटाएको छ । जसका कारण छोरीलाई पुन: मेयरमा दोहोर्‍याउने प्रचण्डको योजनामा ठेस पुग्ने देखिएको छ ।

निर्वाचन तालमेलको विषयमा केही दिनअघि गृहजिल्ला चितवनमा प्रचण्डले ‘चितवन कांग्रेसले भनेर केही हुँदैन ।’ सम्म भनेका थिए । उनी स्थानीय तहमा चुनावी तालमेलका विषयमा कांग्रेससँग केन्द्रबाटै निर्णय गराएरै भएपनि मेयरमा छोरी दोहोर्‍याउन चाहन्छन् । उनी छोरीलाई मेयरमा जिताएर संसदीय निर्वाचनमा आफ्नो चुनावी क्षेत्रमा पकड राखिराख्न चाहन्छन् ।

‘चितवन कांग्रेसले भनेर केही हुँदैन ।’ भन्ने प्रचण्डको भनाइप्रति भने कांग्रेस चितवनले विरोध जनाउँदै आएको छ । केन्द्रबाट लादिने तालमेल अस्वीकार गर्ने चितवन कांग्रेसले निर्णय समेत गरिसकेको छ ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, पूर्व जिल्ला सभापतिसहितको चितवन कांग्रेसले तालमेलको नाममा भरतपुर महानगरपालिकाको मेयर कुनै पनि हालतमा नछाड्ने निर्णय गरेको हो ।

यस पटक यहाँका कांग्रेसी मतदाताले मेयरमा कुनै हालतमा पनि हसियाँ हतौडामा भोट नहाल्ने कांग्रेसका जिल्ला नेताहरुले बताउँदै आएका छन् ।

त्यसैगरी कांग्रेसको चितवन जिल्ला कार्यसमितिले यहाँका सात पालिकाका ९८ वडामा प्रतिनिधि खटाएको छ ।

जिल्ला सभापति राजेश्वर खनालका अनुसार खटिएका प्रतिनिधिलाई बिहीबार अभिमुखीकरण गरिएको छ ।

पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमितिका सदस्य, प्रदेश प्रतिनिधि र केही बौद्धिक क्षमता भएका पार्टीका बुद्धिजीवीलाई खटाइएको छ । उनीहरुले घरदैलोसँगै वडामा पार्टीको अवस्थाबारेमा पनि अध्ययन गर्ने छन् । अधिकांश वडामा टोल समितिसमेत गठन भइसकेको छ ।

भोलि बिहान ११ः३० बजे एकैसाथ जिल्लाका ९८ वडामा अभियान सुरु गरिने कांग्रेसले जनाएको छ ।

भरतपुर महानगरपालिकामा यसअघिको स्थानीय निर्वाचनमा कांग्रेसले माओवादीसँग तालमेल गरेको थियो । जसमा प्रचण्डकी छोरी विजयी भएकी थिइन् ।