बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देउवा दम्पती गठबन्धनमा जाँदा कांग्रेसमा विद्रोहको स्थिति

शुक्रबार, चैत्र ११ २०७८

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन गरी स्थानीय तहको निर्वाचनमा जान तयार हुँदा विद्रोहको स्थिति बनेको छ।

यसैबीच देउवा पत्नीसमेत रहेकी कांग्रेस नेतृ डा. आरजु राणा देउवाले अहिलेका सत्ता गठबन्धनका राजनीतिक दलहरु आमागी निर्वाचनमा पनि मिलेर जाने बताएकी छिन् ।

नेपाल प्रेस युनियन कैलालीले हिजो धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले चुनावी तालमेल गरेरै सत्ता गठबन्धन अघि बढे दुवै पक्षलाई फाइदा पुग्ने बताएकी थिइन् । 

देउवा दम्पती चुनावी तालमेलको पक्ष हुँदा कांग्रेस भित्रको चुनावी माहोल भने विग्रिँदै गएको छ ।

संस्थापनइतरका नेता शेखर कोइराला पक्ष चुनावमा जाँदा गठबन्धन गर्न नहुने मत राखिरहेको छ भने कार्यकर्ताको ठूलो पंक्ति नेकपा माओवादीलगायतसँगको तालमेलका लागि तयार छैन।

गठबन्धन गर्न नहुने पक्षमा उभिएका नेता कोइरालासँग यसैकारण पनि सभापति देउवा रुष्ट बनेका विवरण सार्वजनिक भएका छन्। देउवाले कोइरालालाई भेट समेत दिएका छैनन्।

केन्द्रीय समितिमा बहुमतमा रहेका देउवाले गठबन्धनमा जाने निर्णय गराएको खण्डमा कांग्रेसमा चुनावमा विद्रोह गर्ने चेतावनी कतिपयले दिएका छन्।

प्रचण्डले स्थानीय चुनावमा छोरी रेणु दाहाललाई दोहोर्याउनका लागि कांग्रेसको साथ खोजीरहेका छन् भने जिल्ला समिति कांग्रेस त्यसको पक्षमा छैन। एक नेता भन्छन्,‘विद्रोह हुन्छ।’

कांग्रेस चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठले माओवादीलाई बोकेर हिँड्न नसकिने बताउँदै आएका थिए। तर, सोही ठाउँमा पुगी प्रचण्डले चितवन कांग्रेसले गठबन्धनका विषयमा बोल्नुको अर्थ नभएको बताएका थिए।