कैलाली । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले अहिलेका सत्ता गठबन्धनका राजनीतिक दलहरु आमागी निर्वाचनमा पनि मिलेर जाने बताएकी छन् ।
नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
उनले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा पनि कायम गरेर जाँदा राम्रो हुने बताइन् ।
नेतृ डा राणाले स्थानीय चुनाव तोकिएकै समयमा हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्दै भनिन्, ‘संविधानको प्रावधानअनुसार नै निर्वाचन हुन्छ, निर्वाचन नहुने भन्ने कुरा खाली हल्लामात्रै हो, हामीहरु सबै अब निर्वाचनको तयारीमा लाग्नुपर्छ ।’
कांंग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी डा देउवाले एक प्रसङ्गमा आगामी निर्वाचनमा कांग्रेसले जनताले रुचाएको व्यक्तिलाई नै टिकट दिने बताइन् ।
‘जनताले रुचाएको, जनतासँगै रहेको, स्थानीय स्तरमा जनताका समस्यासँग जानकार रहेको र उनीहरुका आवश्यकताबारे जानकार रहेको व्यक्तिलाई नै पार्टीले टिकट दिन्छ ।’ उनले भनिन् ।
उनले स्थानीय तह भनेका जनताको घरआँगनकै सरकार भएकाले उनीहरुका सुख, दुःखमा साथ दिने र अनुभवी व्यक्तिलाई नै पार्टीले टिकट दिने भन्दै त्यस्ता व्यक्तिलाई जिताएर पठाउन कांग्रेसका समग्र कार्यकर्तालाई आह्वान पनि गरिन् ।
उनले आफ्नो विषयको एक प्रश्नमा आफू कैलालीका जनतासँग भिजिसकेकाले पार्टीले टिकट दिए फेरि पनि यहीँबाट निर्वाचन लड्ने बताइन् ।
नेतृ डा. देउवाले कांग्रेस नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनमा मिलेर र एकजुट भएर लाग्न आग्रह पनि गरिन् ।