बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यसकारण कांग्रेस र माओवादीलाई आगनमा पछार्ने कुरा गर्छन् एमाले अध्यक्ष ओली

सोमबार, चैत्र ७ २०७८

काठमाडौं। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादीलगायतका दललाई धुलीसात बनाउने उत्साह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा जागेको छ। चुनाव नै अस्थिर राजनीतिको समाधान देख्ने उनी स्थानीय चुनावमा आक्रामक भएर लागि पर्न कार्यकर्तालाई निर्देशन दिन थालेका छन्।

‘गठबन्धनका नाममा कांग्रेस र माओवादीले अस्थिरता निम्त्याएका छन्। गएको चुनावमा दैलोमा पछारेको यीनलाई यस पटक आगनमा नै पछार्नुपर्छ’, ओली भन्छन्,‘यहि गतिमा एमालेका इमान्दार कार्यकर्ता जनताका घर–घरमा पुग्नुपर्छ।’ गठबन्धनको एउटा घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट चोइटिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने स्थानीय चुनाव सार्ने रणनीतिमा थिए। तर, एमालेको प्रतिरोध तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अडानका कारण चुनाव पूर्वनिर्धारित मितिमा नै हुने निश्चित भयो।

निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरेपछि चुनावको सुनिश्चिततासँगै एमाले उत्साही बनेको छ। ‘तल्लो तहको निर्वाचनले नै एमालेको लोकप्रियतालाई कायम राख्नेछ। यो एक प्रकारले अन्य चुनावका लागि प्रक्षेपण पनि हुनेछ’, एमालेका एक नेता भन्छन्,‘एमाले चुनावमा एक्लै सामना गरेर पनि जित निकाल्नेमा विश्वस्त छन्।’

स्थानीय निर्वाचनबाटै गठबन्धनका अन्य दलको सातो जाने अध्यक्ष ओलीले बताइसकेका छन्।

ओलीको उत्साहका पछाडि गठबन्धनमा रहेको नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिनु पनि हुने बताइएको छ। माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक कार्यक्रममा एक्लै मैदानमा जानुपर्ने अवस्था आएको बताएका कारण गठबन्धन चुनावसम्म नजाने लगभग निश्चित भएको छ भने कांग्रेसका दोस्रो तहका नेताले अर्को चुनाव चिन्हमा मत हाल्न नसकिने बताउँदा यसको पुष्टि भएको हो।

‘एमालेको मत विभाजन हुने कुरा छैन। बरु काम गर्न नपाएको र एमाले सरकारका पालामा भएको विकासका एजेन्डा जनताका घर–घरसम्म लग्नेछौं’, एक नेता भन्छन्,‘हामीले गर्न सकेको देखाउने, गर्न नपाएको सुनाउने र आगामी योजनालाई पनि जनताका माझमा स्पष्ट राख्नेछौं।’

एमालेले चुनावका लागि नै घोषणापत्र तयार पार्नका निम्ति विभिन्न क्षेत्रका विज्ञसँग लामो परामर्श र छलफल थालिसकेको छ। उसले स्वर्णिम योजनासहित निर्वाचनलक्षित कार्यक्रम र घोषणापत्र तयार गरिरहेको उच्च तहका एक नेताले बताए। ‘सत्ता गठबन्धन किन बन्यो, उसले के–के गरिरहेको छ भन्ने योजनालाई पनि हामीले भण्डाफोर गर्नेछौं’, ति नेता भन्छन्,‘त्यसैले हामी चुनावी मैदानमा उत्साहका साथ उभिने दृढतामा छौं।’