काठमाडौं। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सत्ता गठबन्धनको नेपाली कांग्रेस एक्लै हिँड्न खोजेको भन्दै अर्को घटक नेकपा माओवादी केन्द्रका नेताहरूले धम्कीपूर्ण घुर्की लगाउन थालेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस एक्लै हिँडे नेकपा एमालेसँग सहकार्य हुने बाटो खुलै रहेको भन्ने अभिव्यक्ति दिएका थिए। तर, नेकपा एमालेका कतिपय नेताले त्यस्तो सम्भावना नरहेको बताइसकेका छन्।
नेकपा एमालेका प्रचार विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले माओवादीले त्यस्तो परिकल्पना नगर्नका लागि सुझाव दिएका थिए।
कांग्रेसमाथि माओवादीका अर्का नेता बर्षमान पुनले पनि धम्कीपूर्ण घुर्की लगाएका छन्। उनले माओवादीले सत्तामा ल्याउन सक्छ भने सडकमा लैजान पनि कुनै कसर बाँकी नराख्ने दाबी गरेका छन्। उनले कांग्रेसले गठबन्धनमा चुनाव नलडे त्यस्तो अवस्था आउन सक्ने चेतावनी दिएका हुन्।
सत्ता गठबन्धनमा खटपटका कारण स्थानीय चुनावमा कांग्रेस एक्लै जान सक्ने तयारी भएको छ। चुनावी रणनीतिका आधारमा उसले गाउँघर र टोलटोलमा अभियान चलाइरहेको छ।
कांग्रेसभित्रको बलियो खेमा माओवादीसँगको गठबन्धनमा सिट बाँड्न नहुने र अर्को चुनाव चिन्हमा मत नहाल्ने निचोडसहित अघि बढेका छन्।