काठमाडौँ l प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनाउने र ढाल्ने काम संसद्को भए पनि सर्वोच्च अदालतले संसारमा कहीं नभएको काम गरेको आरोप लगाएका छन्।
प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै ओलीले भने, ‘एक पटक एक जनाले गोरु ब्याउँदैन भनेका थिए ५२ सालतिर । नेपालको सर्वोच्च अदालतमा ब्यायो,’ उनले भने, ‘अहिले गोरु व्यायो मात्रै होइन, पाँच वटा पाठा पायो । बाच्छा पायो । जुनलाई गठबन्धन भनिएको छ ।’ उनले ओली सरकार ढाल्न अमेरिकाबाट इमेल आउने, न्यायाधीशको अभिव्यक्ति आउने काम भएको बताए । ‘केपी ओलीको सरकार ढाल्नुपर्ने ? न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ?,’ उनले प्रश्न गरे ।
उनले अहिले राष्ट्रिय राजनीति दुईतिर बाँडिएको बताए । सानो देश भए पनि कसैले पनि हेप्न नपाइने उनले बताए । ‘अहिले दुई धारमा देशको राजनीति छ । एउटा लोकतन्त्र र एउटा षड्यन्त्रको पक्षमा,’ उनले भने, ‘जालझेल, टिकडम, मुद्दा मामिला । यसको पक्षमा एउटा टोली नै लागेको छ । जाली फटाहाहरुको राजनीतिले देश बिगारेको छ ।’
उनले देशको अर्थतन्त्र ध्वस्त हुँदै गएको र यसबारे आफू चिन्तित बनेको बताएका छन् । उनले जनताको साथ सहयोगले आगामी निर्वाचनबाट जाली फटाहाहरुलाई ठेगान लगाइने दाबी गरे । ‘हामी दृढतापूर्वक अघि बढेका छौं । शान्तिपूर्ण आन्दोलनमा छौं । अब हामी निर्वाचनको माध्यमबाट जाली फटाहाहरुहलाई ठेगान लगाइदिन्छौं’ उनले भने ।
उनले जनतालाई भ्रममा पार्ने, अल्मल्याउने, गलत कुरा जनतामा सम्प्रेषण गर्ने, गतल कुरा जनतालाई बताउने, षड्यन्त्रहरु भइरहेको भन्दै पत्रकारलाई त्यसलाई चिर्ने काम गर्न आग्रह गरे । ‘के के सही, के के गलत छुट्याउनुस्, सहीलाई समर्थन गर्नुस्, सहीलाई अगाडि बगाउनुस्, सहीको सम्मान हुन्छ,’ उनले भने ।
उनले एमालेका पक्षमा लेख्ने पत्रकार र पत्रिकालाई ‘एमालेको विरोध खै तपाईंको मिडियामा ? यो त एकपक्षीय भयो नि ? भनेर आरोप लगाउने गरेको बताए । ‘परामादेशीको पक्षमा खुरुखुरु लेख्दा बुद्धिजीवी हुन्छ । परमादेशीहरुको अलिकति आलोचना गर्यो भने बुद्धिजीवी भएर यो त सुहाएन है, यो त एकपक्षीय देखियो तपाईंको रे’, उनले भने, ‘यस खालका बौद्धिक विकाउ प्रवृद्धिबाट जोगिनुपर्छ । तपाईंहरु जोगिनुहोला ।’ शुक्रबार र शनिबार पोखरामा चल्ने प्रेस चौतारीको महाधिवेशनमा एक हजार दुई सय बढी प्रतिनिधि छन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।