शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आगो निभाउन भरपर्दो विकल्प बन्दै हेलिकोप्टर

बिहिबार, फाल्गुन २६ २०७८

काठमाडौँ l पहिले पहिले आगोलाग्दा दमकल वा मानिसले मात्र निभाउनुको विकल्प थिएन । जंगलमा आगो लाग्दा दमकल पुग्न बाटो हुँदैन । शहरमा पनि साँघुरा गल्लीका कारण कतिपय ठाउँमा दमकल पुग्न सक्दैनन् । तर, अहिले आगो निभाउन हेलिकोप्टरको प्रयोग हुन थालेको छ ।

आइतबार दमौलीको शहरी क्षेत्रमा आगो लाग्यो । पाँच वटा दमकल र सुरक्षाकर्मी स्थानीय परिचालित हुँदा पनि आगो निभेन । काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकोप्टरले आगो निभायो । यस्तै पछिल्लो समय सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकाको लुक्कास्थित जंगलमा लागेको आगो हेलिकोप्टरको सहयोगमा निभाइएको थियो ।

लुक्लाको जंगलको आगो भीरमा प्रवेश गरेका कारण हेलिकोप्टरलाई आगो निभाउन केही समस्या परे पनि सिपालु क्याप्टेन सजिलै आगो निभाउन सफल भएका थिए । हेलिकोप्टरबाट आगो निभाउन त्यति सजिलो छैन । यसका लागि तालिम प्राप्त पाइलटको आवश्यकता पर्छ ।

अहिले नेपालमा आगो निभाउन आवश्यक तालिम प्राप्त जनशक्ति र उपकरणसहित सिम्रिक एयरका दुई वटा मात्र हेलिकोप्टर रहेको सो एयरका मार्केटिङ प्रमुख योगेश सापकोटाले बताए । यो टोलीले ताप्लेजुङ्गको पाथिभारा, काठमाडौँको शिवपुरी वन, बालाजुको बिस्कुट फ्याक्ट्री, सोलुखुम्बु, दमौली, र लुक्लाका दुई स्थान गरेर सात ठाउँमा अग्नि नियन्त्रणको काम गरिसकेको छ । गोरखापत्र दैनिकमा खबर छ l