बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसको चुनावी कथा, माओवादीलाई प्रसव व्यथा

सोमबार, फाल्गुन २३ २०७८

काठमाडौं। आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरूलाई तीन दिनसम्म जिल्लामा खटाउने निर्णय लिएको छ। भर्खरै महाधिवेशन सकेको कांग्रेसले पार्टीका लागि मतदाताको पोजिशन बुझ्न यस्तो तयारी गरेको हो।

केन्द्रमा गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसले चुनावमा एकल हिसाबले नै प्रस्तुत हुने तयारीअनुसार यसो गर्न लागेको उच्च स्रोतले जनाएको छ। सभापति शेरबहादुर देउवालगायत पदाधिकारीले गठबन्धन गरी चुनावी मैदानमा नजाने निर्णय लिने तयारी भएको छ।

कांग्रेसको यो तयारीसँगै गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दललाई धक्का लाग्ने निश्चितप्रायः छ। कांग्रेसले मुलुकमा दुई पार्टी सिस्टममात्र हुनुपर्ने र त्यसका लागि मुख्य प्रतिस्पर्धी प्रतिनिधि सभाको पहिलो दल नेकपा एमाले रहेको स्पष्ट खाका तयार पारेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जसरी पनि सत्ता चाहिने र सरकारको नेतृत्वलाई चलाउने प्रवित्तिबाट कांग्रेस पनि वाक्क भएको छ। ‘आगामी चुनावमा हामी गठबन्धनमा जाने निश्चित छैन, कांग्रेसको मत कुनै पार्टीलाई जानेवाला छैन’, उच्च स्रोतले भन्यो,‘स्थानीय चुनावका अघिल्ला गठबन्धनपछि कसरी धोका पाइयो भन्ने पनि स्मरणमा छ।’

त्यसो त कांग्रेसको शेखर कोइराला पक्षले खुलेरै गठबन्धन गरी चुनावमा जान नहुने मत राखिरहेको थियो। तर, बलियो संस्थापन रहेका कारण प्रधानमन्त्री देउवाको विचार र धारणाले मात्र अर्थ राख्ने बताइएको थियो। ‘एमसीसी प्रकरणमा जुन प्रकारले सभापति देउवालाई गठबन्धनका तर्फबाट अप्ठ्यारो पार्ने अभ्यास गरियो, यसले सबै सचेत भएका छन्’, स्रोतले भन्यो,‘कांग्रेसले एकल चुनावको तयारीअनुसारै पूर्वनिर्धारण गरेका कार्यक्रम बोकेर मैदानमा उत्रिन्छ।’

कांग्रेसको यसप्रकारको चुनावी मार्गचित्रको कथाले नेकपा माओवादीलाई भने प्रसब पीडा हुने बुझिएको छ। ‘माधवकुमार नेपालको पार्टीले खासै चुनावमा जीत निकाल्ने होइन,  उसले एमाले हराउने रणनीति लिन्छ’, कांग्रेसका एक नेता भन्छन्,‘यसले हामीलाई फाइदा हुन्छ र हामी पहिलो दल बन्नेछौं। माओवादीसँग साझेदारी गरी सिट घटाउने पक्षमा छैनौं।’

चुनावसम्मै गठबन्धन गर्ने मौखिक सहमतिका आधारमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पार्टीभित्र विवाद र किचलो हुँदाहुँदै एमसीसी परियोजना संसदमा पारित गर्न सहयोग गरेको थियो। त्यसको किचलो व्यवस्थापन गर्न अहिले प्रचण्डलाई केन्द्रीय समितिमा हम्मे हम्मे परिरहेको छ भने एकीकृत समाजवादीमा पनि अध्यक्ष माधवकुमार नेपालको नैतिक स्खलन भएको छ। नेता झलनाथ खनाललगायतले यसको तिव्र विरोध र आलोचना गरिसकेका छन्।