काठमाडौं। ‘व्याख्यात्मक घोषणा’सहित अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन पारितमा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहयोग गरेपछि नेकपा माओवादी केन्द्रभित्र संकट उत्पन्न भएको छ।
एमसीसीको विरोध गरिरहेका नेताहरूले माओवादी केन्द्र विभाजनसम्मको तयारी गरेपछि प्रचण्ड आफूइतरका कनिष्ठ नेताका निवास दौडन थालेका छन्। नेता नारायणकाजी श्रेष्ठ समूह तथा प्रचण्डसँगै रहेका कृष्णबहादुर महरा, राम कार्कीलगायत यो निर्णयको विपक्षमा उभिएका थिए।
श्रेष्ठले माओवादीको निर्णयप्रति आपत्ति जनाएपछि प्रचण्डले उनलाई पार्टी छाड्न सक्नेसम्मको घुमाउरो धम्की दिएका थिए। यो धम्कीपछि माओवादीभित्र झनै संघर्ष हुने देखिएको छ।
श्रेष्ठलाई फकाउने कसरतमा प्रचण्ड मंगलबार हात्तिवन पुगेका थिए भने बुधबार पनि छलफलका लागि पुग्दैछन्। ‘केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा यस प्रकारको विवादलाई अन्त्य गर्न प्रचण्ड सक्रिय छन्’, उच्च स्रोतले भन्यो।
शुक्रबार माओवादीका केन्द्रीय समिति बस्दैछ र पदाधिकारीलगायतको टुंगो लगाउने तयारी थियो। तर, एमसीसी प्रकरणको विवादको विषयमा प्रचण्डलाई र्याखर्याख्ती पार्ने तयारी पनि भएको छ।
यो संकेत पाएका प्रचण्डले श्रेष्ठको निवास मात्र होइन रुष्ट बनेका देव गुरुङ, लिलामणि पोखरेललगायतलाई पनि फकाउने कोशिश गरेका छन्। तर, केन्द्रीय समितिमा महाधिवेशनको म्यान्डेडविपरित प्रचण्डले एमसीसीमा किन सहमति जनाए भन्ने विषयमा प्रश्न उठ्ने बताइएको छ।
एमसीसीको विपक्षमा केन्द्रीय समितिमा बलियो मत रहेको बताइएको छ। ‘माओवादी प्रचण्डको प्राइभेट कम्पनी होइन, हामीले अन्यलाई दोष दिने हर्कत प्रचण्डले पनि गर्न पाउँदैनन्’, उच्च स्रोतले भन्यो।