काठमाडौँ l अमेरिकी सहयोग सम्झौता ‘एमसीसी’ पारित गर्नेबारे संस्थागत निर्णय गर्न सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को आइतबार बैठक बस्दैछ ।
सम्झौता पारित नगरे गठबन्धन तोड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चेतावनीपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निणर्य लिन बैठक डाकेका हुन् । माओवादी केन्द्रको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा अहिले बिहान बस्दै छ भने एकीकृत समाजवादीले ११ बजे सचिवालय बैठक बोलाएको छ ।
एमसीसी सम्झौताबारे विवादमा आएका बुँदाहरुलाई कानुन ब्यवसायीहरुले ब्याख्यासहितको टिप्पणी तयार पार्ने र सोही ब्याख्यामा टेकेर सम्झौता पारित गर्ने गरी बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ । तर, यी दुवै पार्टीभित्र एमसीसीको चर्को विरोध रहेकाले नेतृत्वलाई संस्थागत निर्णय गराउन हम्मेहम्मे पर्ने देखिएको छ ।
आज दिउँसो १ बजे प्रतिनिधिसभाको वैठक बस्दैछ । आजको वैठकमा एमसीसीबारे छलफल गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा वैठकअघि नै एमसीसीबारे साझा धारण तयार गर्न सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एसको वैठक बस्न लागेको हो । अमेरिकाले फागुन १६ गतेसम्ममा एमसीसी पास गर्न दवाव दिंदै आएको छ ।