शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

जताततै लागूऔषध

बुधबार, फाल्गुन ११ २०७८

काठमाडौँ l काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध १ सय ५० एम्पुल डाईजेपाम, १ सय ५० एम्पुल फेनारगन र १ सय ५० एम्पुल नुर्फिन सहित भारत अररिया जोगबनी हरिपुर–१३ बस्ने ४४ वर्षीय मोहमन जबिरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०२–०३–००१ ख ३३९३ नम्बरको बसलाई नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार जबिरलाई लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी नागढुङ्गाबाटै काठमाडौं महानगरपालिका–७ बस्ने २१ वर्षीय कुशल घिमिरेलाई ६० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६४११ नम्बरको बसमा सवार कुशललाई झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । 

मोरङको कटहरी गाउँपालिका–४ लोहन्द्रा पुल नजिकबाट बिराटनगर महानगरपालिका–५ बस्ने ३५ वर्षीय प्रयाश शर्मा र सुनसरी देवानगंज गाउँपालिका–१ बस्ने २२ वर्षीय जयकृष्ण मेहतालाई नियन्त्रित लागूऔषध ३८ बोतल कोडिन फोस्फेट, ३ सय ९० ट्याब्लेट नाईट्राभेट, १ सय ट्याब्लेट स्पास्मो र २९ बोतल डाईलेक्स डिसी सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा ग.१ प ९७०५ र प्रदेश १–०२–०४७ प १३१६ नम्बरको मोटरसाइकल पार्किङ गरी पुल नजिकै रहेको कटेरामा उनीहरूले उक्त लागूऔषध लुकाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।