काठमाडौँ । कर्जामा भारीवृद्धि र महामारीका कारण ऋणीहरुको आय खुम्चेका बेलामा पनि बैंकहरुले आफ्नो खराब कर्जामा सुधार ल्याएका छन् । ४ वटा बैंकहरु बाहेक अन्य बैंकको खराब कर्जामा सुधार आएको देखिएको छ ।
बैंकहरुले नाफा सुरक्षित गर्नका लागि खराबमा परिणत हुन लागेका कर्जामा समेत बठ्याईपूर्वक ओभरड्राफ्ट तथा चालु पुँजी कर्जा मार्फत असलमा परिणत गरिरहेका छन् । जसका कारण ठूलो मात्रामा कर्जा प्रदान गर्दा र महामारीका कारण व्यवसायीको ऋण तिर्ने अवस्थामा पनि खराब कर्जामा सुधार आएको छ ।
यति मात्रै होइन, यसमा राष्ट्र बैंकको पनि उचित नियमन हुन नसकेको बिज्ञहरु बताउँछन् । नेपालका बैक तथा वित्त संस्थाको मूख्य धितो घरजग्गा हुन्छ । आयोजनाका आधारमा कमै मात्रै कर्जा प्रदान हुन्छ । घरजग्गाको निरन्तर मूल्य बृद्धि भएकाले तत्कालका लागि भने खराब कर्जा बढ्दा पनि खासै असर नहुने देखिन्छ ।
सामान्य जनताबाट संकलित यस्तो रकमको उपयोग भने अलि ठूला उद्योगी तथा व्यवसायीले नै अधिक गरेको देखिन्छ ।
दक्षिण एसियामा कर्जा वृद्धि गर्ने मुलुकमा नेपाल अग्रस्थानमा छ । खराब कर्जा पनि नेपालको नै सबैभन्दा कम देखिन्छ ।जबकी गत वर्षको तुलनामा बैंक तथा वित्त संस्थाको कर्जा २८ प्रतिशतले बढेको छ ।
सार्क मुलुकमै सबैभन्दा कम खराव कर्जा नेपालको छ । नेपालको १ दशमलव ७ प्रतिशत खराव कर्जा रहँदा पाकिस्तानको सबैभन्दा उच्च ९ दशमलव २ प्रतिशत छ । तर, कर्जा भने कुल गार्हस्थ उत्पादनको तुलनामा सबैभन्दा बढी नेपालकै छ । कर्जा वृद्धिदर पनि नेपालकै उच्च देखिन्छ । तर, खराब कर्जा भने सबैभन्दा न्यून छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा दिएको छुटका कारण खराब भएका कर्जासमेत असलका रुपमा देखिएका छन् । धितो राखिएका जग्गाको मूल्यमा भएको निरन्तर वृद्धि र बैंकहरुले ऋणीलाई ओभरड्राफ्ट कर्जा दिएर असल देखाइरहेका छन् ।
पुस मसान्तसम्म कर्जा तथा किस्ता तिर्न नसक्ने १५ हजार ३ सय ८१ जना ऋणीको म्याद थपिएको छ । यसरी ऋणको म्याद थपिएकाले चार बाणिज्य बैंकबाहेक अन्यको खराब कर्जामा सुधार देखिएको हो ।