काठमाडौँ l प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा गएका प्रधानसेनापति शर्माले बिहीबार सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन् ।
उनले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारले सेनालाई ट्रयाक खोल्ने जिम्मेबारी दिएको व्यास गाउँपालिकाको तुसरपानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा कोठेधारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्डको हवाई निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए l
सरकारले गत वर्ष सदरमुकाम खलङ्गा–तिंकर सडकखण्डको आधा काम नेपाली सेनामार्फत गराउने निर्णय गरेको थियो । सोहीअनुसार सेनाको विकास दलले व्यास–२ कोठेधारदेखि दुम्लीङसम्मका विभिन्न खण्डमा सडक निर्माणको काम थालनी गरेको छ ।
विसं २०६५÷६६ देखि निर्माण सुरु गरिएको यो सडकखण्ड कञ्चनपुरको ब्रह्देवदेखि दार्चुलाको तिंकरसम्म पुग्ने सामरिक महत्वको सडक हो । यसअघि नेपाली सेनाले साढे चार मिटर बढी घोरेटो बाटोसमेत यस क्षेत्रमा काटेको छ ।
धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला पुगेका प्रधानसेनापति शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा पनि छन् । दार्चुलामा रहेको गुरुगोरख गुल्मले महाकाली नगरपालिका–५ खेटबोकेमा थालेको तीन महिने नेपाली सेनाको तालिमको समापन लगत्तै प्रधानसेनापति शर्मा तिंकर सडकको निरीक्षणमा गएका हुन् ।