शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

माओवादीमा नैतिकता स्खलन

सोमबार, माघ २४ २०७८

संघीय गणतन्त्रकाे महान उपलब्धि: मूर्ति चोरलाई मन्त्री बनाउँदै

काठमाडौँ l यतिबेला कर्णाली प्रदेशमा नेकपा माओवादीबाट गैरसांसदलाई मन्त्री बनाएको कुराले चर्चा पाइरहेको छ । राजनीतिक क्षेत्रमा मात्र होइन गैरराजनीतिक क्षेत्रमासमेत यत्रतत्र चर्चाको विषय बनेका छन् २०७८ माघ २३ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्न सफल भएका हुम्लाका गैरसांसद छिरिङ्ग दमडुल लामा उर्फ कार्चेन लामा ।

६ महिनाका लागि गैर साँसद मन्त्री हुनु, बनाइनु सामान्य कुरा हो । यसका लागि कानूनले रोकेको होइन । तर कानून भन्दा माथि पनि सामान्य नैतिकता र मर्यादा छ । मन्त्री बन्न लागेका लामा नैतिक पतन देखिने र फौजदारी अभियोगमा दुई वर्ष जेल सजाय र पाँच हजार जरिवाना ठेकिएका व्यक्ति भएका कुरा सार्वजनिक भएको छ । लामालाई मन्त्री बनाउने निर्णय किन र कस्को स्वार्थमा गरियाे  ? कर्णालीका बुद्धिजीवीहरूले प्रश्न उठाएका छन् ।

ताजुब लाग्ने कुरा त यो छ कि दश बर्ष युद्ध लडेर गणतन्त्र ल्याएको दाबी गर्ने माओवादीभित्र डेढ दशकमै माओवादीभित्र नैतिकता र मर्यादाको अनिकाल लागेको देखिएको छ । राजा फाल्ल भनेर युद्धमा हजारौं माओवादी कार्यकर्ता शहीद भए, सयौं बेपत्ता पारिए तर आज मन्त्रीको हकदार मूर्तिचोर हुने दुःखद् दिन आएको छ । लामालाई ६ महिने मन्त्रीका लागि सिफारिस गरिएको हो ।

लामाले १२ सय वर्ष पुरानो मूर्ति चोरीको अभियोगमा अदालतबाट भएको फैसला वमोजिम जेल सजाय र जरिवाना भुक्तान गरेको फैसला कार्यान्वयन निर्देशनालयको अभिलेखमा दर्ज भएको छ । कार्चेन कैदमुक्त भएपछि मात्रै राजनीतिमा घुसेका हुन् ।

अदालतबाट चीनको ताक्लाकोटस्थित खोचेर गुम्बामा रहेको १२ सय वर्ष पुरानो मूर्ति चोरी गरेको ठहर भएको थियो । पुरातात्विक, साँस्कृतिक एवम् ऐतिहासिक महत्व राख्ने उक्त मूर्ति चोरीको अभियोगमा लामासँगै अर्का व्यक्ति छिरिङ्ग पाल्देन लामा पनि पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरी २०४९ मंसिर १४ गते हुम्ला जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । कानूनतः मूर्ति चोरी नैतिक पतन देखिने फौजदारी कसूर मानिन्छ ।

अदालती अभिलेखमा जिल्ला अदालत हुम्लाका तत्कालीन न्यायाधीश निलकण्ठ उपाध्यायले २०५१ मंसिर २५ गते कैद ठेक्ने फैसला सुनाएको देखिन्छ । फैसला अनुसार लामासहित दुवैजना अभियुक्तलाई दुई–दुई वर्ष कैद र पाँच–पाँच हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको छ । लामाले २०७८ असोज ११ गते मात्रै कैद र जरिवाना भुक्तान गरेका थिए । उनले माथिल्लो अदालतमा पुनरावेदन पनि गरेको कतै खुल्दैन ।

कैद भुक्तान गरेको वर्ष दिन नपुग्दै माओवादीले मूर्तिचाेरलाई मन्त्री पदको पुरस्कार दिएकाे छ । लामाको मन्त्रीमा आरोहणले संघीयता र गणतन्त्रका लागि ज्यूज्यानको पर्वाह नगरी युद्धमा होमिने माओवादीका हजारौं शहीद र बेपत्ता परिवारलाई ‘कुरीकुरी’ गरिरहेको चर्चा छ । शहीद परिवार र बेपत्ता परिवार निरीह बन्दै यस्तो बेथितीको दृष्य टुलुटुलु हेर्नुपर्ने अवस्था छ । साँघु साप्ताहिकमा खबर छ l