काठमाडौँ । पछिल्लो समय घट-बढ भइरहेको शेयर बजारमा विगत ७ महिनामा लगानीकर्ताले नाफा भन्दापनि नोक्सानी बढि ब्यहोरेको देखिन्छ। तर, यहि शेयर बजारबाट सरकारले भने मनग्य आम्दानी गरेको छ ।
विगत ६ महिनामा मात्रै सरकारले सेयरबजारबाट ८ अर्ब कमाएको छ । जबकी गत वर्षको सोहि समयमा यस्तो आम्दानी ३ अर्ब मात्रै थियो ।
शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गएका बेलामा गत भदौ ३ गते नेप्से परिसुचक ३२ सय ८ अंकमा पुग्यो । तर, बिस्तारै बैंकहरुले निक्षेपमा बढाउँदै गएको ब्याज र तरलता अभावका कारण बजार घट्न थाल्यो ।
गत मंसिर २७ मा घटेर यो २२ सय ९५ सम्म ओर्लियो । जुन अहिले भने २९ सय अंकको आसपासमा रहेको छ । ३२ सय अंकको आसपासमा रहेका लगानीकर्ताले अहिले पनि क्षति भोगेका छन् । विगत ७ महिनामा शेयर लगानीकर्ताले शेयर बजारबाट ८८ अर्बको नोक्सानी बेहोरेका छन्।
तर, यहि बेलामा सरकारले भने पुँजीगत लाभकरबापत ८ अर्ब ६ करोड र आयकर बापात २७ करोड राजस्व प्राप्त गरेको छ। गत वर्षको सोहि समयमा भने यस्तो आम्दानी कुल ३ करोड ७० लाख मात्रै थियो। यसरी हेर्दा गत वर्षको तुलनामा सेयरबजारबाट प्राप्त गर्ने आम्दानी ९० प्रतिशतले बढेको छ ।
सरकारले एक वर्ष भित्रमा खरिद गरेर बिक्री भएको सेयरमा ७ दशमलव पाँच प्रतिशत कर लगाउँछ । त्यो भन्दा बढि अवधिमा खरिद बिक्री भएका सेयरमा भने सरकारले ५ प्रतिशत कर लगाउने गरेको छ ।
बजारमा जतिबढि शेयर खरिदबिक्री भयो त्यति बढि सरकारलाई आम्दानी बढि हुने भएकाले यो पटक राजस्व बढि आएको देखिएको हो । सरकारले यो क्षेत्रबाट आम्दानी गरेपनि शेयर बजारको विकासका लागि भने खर्चन नसकेको विज्ञको दाबी छ ।
कर प्राप्ती गर्ने यस्तो क्षेत्रमा सरकारले सबै प्रक्रिया पुराएर समेत प्राथमिक शेयर निष्काशनका लागि महिनौ झुलाएर राख्ने गरेको छ ।