शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सीकेको आक्रामक उदयको अर्थ

सोमबार, माघ १७ २०७८

काठमाडौं। राष्ट्रीय सभाको खाली १९ सिटको निर्वाचनका बेला मधेस प्रदेशमा हिंसात्मक प्रदर्शनमा उत्रिएको सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले केही सांसद र मेयर चढेका गाडीमा आक्रमण गरेका थिए।

त्यसअघि जनता समाजवादी पार्टीकी नेत्री तथा भौतिक पूर्वाधार र यातायातमन्त्री रेणु यादवको कार्यक्रम विथोल्ने लाठी, भालासहितका प्रदर्शन भएका थिए। यादवले गौर नरसंहारलाई स्मरण गराउँदै राउतलाई हत्या गर्ने चेतावनी दिएको विषयले एक साता मुलुक नै राजनीतिक गर्मिमय भयो।

राउत अहिले मधेसमा किसान आन्दोलनको अगुवाई गरी दैनिकजसो सभा, जुलुस र प्रदर्शनहरूको सम्बोधनमा सक्रिय छन्। उनको यो रणनीति आगामी निर्वाचन लक्षित रहेको स्पष्ट नै देखिएको छ। राउतको पक्षमा मधेस केन्द्रित दलले काम नगर्दाको निराशावादी जनताको ठूलो लर्को देखिन थालेको छ। किसानहरू औजार लिएर आन्दोलनको मोर्चामा उत्रिएका छन्, यो क्रम चुनाव अवधिभर चल्ने जनमत पार्टीका कतिपय नेता कार्यकर्ताले बताउन थालेका छन्।

सीके राउतको मधेसमा आक्रामक उदय भएको छ। अमेरिकाबाट लोभलाग्दो जागिर छाडी मधेसका जनताको भलाईका लागि राजनीतिक मोर्चामा होमिएको बताउने उनका अभिव्यक्तिले उपेन्द्र यादव नेतृत्वको जसपालगायत मधेसवादी दललाई धक्का दिने संकेत गरेको छ। उनी भन्छन्,‘हामीले गरेको प्रदर्शनलाई हिंसात्मक भन्ने उपेन्द्रहरूले गौरमा २७ जनाको हत्या गरेका थिए। हामी किसानको हितका निम्ति सडकमा छौं।’

पृथकतावादी भाषणबाजीले मधेस सम्प्रदायमा छाएका राउत अब मूलधारको राजनीतिमा धक्का दिने शक्तिका रुपमा उदाउन थालेका छन्। ‘मधेसी जनताको भावनाको राजनीति गरी सत्तामा पुगेपछि भागशान्ति मात्र खोज्नेहरूसँग जनताको जुन निराशा छ, त्यसको आशाका रुपमा सीकेको उदय स्वभाविक बनिरहेको छ’, विश्लेषकहरू भन्छन्,‘चुनावसम्म हेर्नुहोला जनमत पार्टीको उभारले मधेस केन्द्रित दल चुर चुर हुनेछन्।’

त्यसो त एकता गरी बलियो बने पनि केन्द्रीय सत्ताको पासोमा परी विभाजित भइसकेका यादव र महन्थ ठाकुर समूहको शक्ति क्षीण हुनु पनि सीकेका लागि स्थापित हुने मौका हो। यो अवसरलाई किसान आन्दोलनको माध्यमबाट लाभका रुपमा परिणत गराउन उनी सक्रिय छन्।

‘पहिले त हामी ८ जिल्लामा स्थापित भएर केन्द्रसम्म धक्का दिने शक्ति बन्ने तयारीमा छौं। खास अर्थमा मधेस र किसानका मुद्दामा हाम्रो व्यवाहारिक उपस्थिति हुनेछ’, जनमत पार्टीका एक नेता भन्छन्,‘अरुलाई धक्का दिने होइन, उनीहरू आफ्नो कर्मका आधारमा धक्का खानेछन्। त्यो पहिचान त जनताले दिने हुन्, हामीले होइन।’