शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रचण्डकृत माधव–झलनाथको सम्भावित स्खलन

सोमबार, माघ १७ २०७८

काठमाडौं। छातीमा सूर्य चिन्ह टाँसेर निर्वाचन आयोगसम्म पुग्दै नेपाल कम्युनिस्ट पार्टी र आधिकारिक लोगो आफ्नो भएको बताउने पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक युटर्न कतिबेला हुन्छ, समिक्षा असम्भव छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अस्वभाविक रुपमा नेकपा एमालेसँग सहकार्यमा गत चुनाव लड्ने संयुक्त घोषणा गर्दा सत्ता सहकार्य गरिरहेको नेपाली कांग्रेसलाई बेजोड धोका दिएका थिए। भरतपुर महानगरपालिकामा छोरी रेणु दाहाललाई मेयरमा जिताउनका लागि कांग्रेससँग सहकार्य गर्दा प्रचण्डको एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यंग्यात्मक प्रहार गर्दै भनेका थिए,‘कांग्रेसले कसलाई बोकेको छ भनेर हेरेको त माओवादीकी छोरी!’

तर प्रचण्डले त्यस्तो तिक्ततापूर्ण सम्बन्धलाई केही महिनामा नै सर्लक्क बदलेर ओलीसँग घाँटी जोडेर आम चुनावमा एमालेलाई पहिलो र आफ्नो दल तेस्रो बनाउन सफल भए। यतिमात्र होइन, कम्युनिस्टले ५० बर्ष सत्ता चलाउने दाबी गर्दै कांग्रेसको हुर्मत लिने भाषण पनि गरेका थिए।

घटनाक्रमले ओलीसँग पुनः सत्तास्वार्थमा कुरा नमिल्दा एकीकृत भएको पार्टी विभाजन भयो र ओलीको सत्ता गिराएर अहिले त्यहि कांग्रेसलगायतका दलसँग सत्ता सहकार्य गरेका छन्। यसक्रममा उनले एमाले चोइट्याउने काममा पनि सफलता हासिल गरे।

यद्यपि, राजनीतिमा शक्तिको तिर्खा असीमित हुँदा जे पनि हुन सक्ने सम्भावनाका पात्र हुन् प्रचण्ड। उनले भन्ने गरेका छन्– राजनीति सम्भावनाहरूको खेल हो, यसमा स्थायी शत्रु र स्थायी मित्र पनि हुँदैन।

५ दलीय सत्ता गठबन्धनको औचित्य राष्ट्रिय सभा चुनावसम्म मात्र रहेको निष्कर्श निकाल्दै नेपाली कांग्रेसले अब हुने स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनावमा एक्लै मैदानमा उत्रिने तयारी गरेको छ। केही क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावनालाई राखे पनि सबै निर्वाचन क्षेत्रमा गठबन्धनको भागशान्तिमा सरिक नहुने कांग्रेसको तयारीले प्रचण्ड र माधवकुमार नेपाल–झलनाथ खनालको नेकपा एकीकृत समाजवादीको भविष्य शुन्यमा झर्नसक्ने अनुमान गरिएको छ।

जनाधारबारे स्पष्ट खाका नभएको नेकपा एकीकृत समाजवादीलाई गठबन्धनका नाममा प्रचण्डले बोक्छन् या सत्ता शक्तिमा उदाउन पुनः युटर्न गरी ओलीसँग सहकार्य गर्ने हुन् भन्ने आश्चर्यजनक निर्णय गर्लान् भन्ने पनि सम्भावना छ। जसले माधव–झलनाथको राजनीतिक स्खलनलाई अति स्वभाविक बनाउन सक्ने देखिन्छ।

‘त्यस्तो जर्जर अवस्थाका बेला ओली र प्रचण्डको सहकार्य भएको थियो। चुनाव नजिकिँदै जाँदा एमालेका नेताहरू माओवादीप्रति नरम र माधवकुमार नेपालप्रति निक्कै तिखो बनिरहेका छन्। यसले फेरि पनि सहकार्य हुनसक्ने स्पेश प्रचण्डलाई देखाउने संकेत हो’, उच्च स्रोतले भन्यो,‘प्रचण्डले पनि राजनीतिक विरासतलाई बलियो बनाउनका लागि फेरि एमालेसँग एकीकरण नै नगरे पनि सहकार्य गर्न सक्ने सम्भावना हुन्छ। त्यसो हुँदा माधव–झलनाथको पार्टी शुन्यमा झर्न सक्छ।’

एमाले नेकपा एकीकृत समाजवादीसँग सहकार्य गर्ने पक्षमा छैन। अहिलेसम्म दलको मान्यता नदिएको र आफूले कारबाही गरेका सांसदको दललाई ओलीको स्वीकारोक्ति छैन। बरु, नेकपा विभाजन र ओलीलाई एक्ल्याउने खेलमा माधवकुमार नेपाल निर्णायक रहेको तर प्रचण्ड सहायकमात्र भएको बुझाई र धारणा सार्वजनिक गरिन थालिएको छ।

आगामी चुनावमा प्रचण्डको सहायतामा एमाले चोइटाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि धोका हुन सक्ने सम्भावना देखिने पर्याप्त उदाहरण छन्। प्रचण्डले खुला राजनीतिमा आएपछि राष्ट्रपतिको पद देखाउँदै तत्कालिन कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालासँग सहकार्य गरी गणतन्त्र घोषणा गराए तर राष्ट्रपतिमा रामराजा सिंहलाई उठाएका थिए।

उक्त धोकाको बदला कोइरालाले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाए भने त्यसको विकल्पमा प्रचण्डले आन्दोलन छेडेका थिए। माधव नेपालले राजीनामा दिनासाथसबैलाई चक्मा दिएर ७ बुँदे गोप्य सहमति गरी झलनाथलाई प्रधानमन्त्री बनाएका थिए। ‘प्रचण्डका आश्चर्यलाग्दा राजनीतिक खेल सदनमा देखिएका हुन्। अब माधवकुमार नेपालले धोका नपाउलान् भन्ने के ग्यारेन्टी छ र?’, स्रोतको दाबी छ।