काठमाडौँ l सशस्त्र प्रहरी बल (एपीएफ) मा नियमित अवकाश र बढुवा भएमा हालका एआईजी पुष्पराम केसी वरियताका आधारमा चैतपछि २१ दिनका लागि सशस्त्र प्रहरी महानिरीक्षक बन्ने सम्भावना छ । यदि सरकारले केही भाजो नहालेमा उनले २८ चैत्र २०७८ देखि १९ वैशाख २०७९ सम्म सशस्त्र प्रहरीको नेतृत्व गर्नेछन् ।
तर, सरकारले सशस्त्र प्रहरीमा एक एआईजी दरबन्दी थप्ने तयारी थालेसँगै महानिरीक्षक बन्ने उनको सपना बीचमै तुहिने सम्भावना र आशंका बढेर गएको छ । सरकारले २१ दिनका लागि नेतृत्व दिएर फेरि नियुक्त गर्नु भन्दा बढुवा भएका नयाँ एआईजीलाई नै महानिरीक्षक बनाउने तयारी गरेकाले केसीको आईजीपी बन्ने सपना पूरा नहुने देखिएको हो ।
यद्यपि बीचको समयमा एआईजी केसीलाई निमित्त महानिरीक्षक बनाउनुुको विकल्प हालकै महानिरीक्षक खनाललाई नियमावली संशोधन गरेर थप समय म्याद थप्नुबाहेक सरकारसँग छैन ।
हाल सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकालका कारण आगामी २८ चैतमा अवकाशमा जाँदै छन् । उनी २८ चैत २०७४ मा आईजीपी भएका थिए । उनकै ब्याची भए पनि हालका एआईजीहरु केसी र रामशरण पौडेलले भने ३० वर्षे सेवा हदका कारण १९ वैशाखमा मात्र अवकाश पाउनेछन् । गत १३ वैशाखमा उनीहरुको एआईजीमा एक वर्षे कार्यकाल थप गरिएको थियो ।
आईजीपीको र एआईजीको अवकाशबीचको अवधिमा सशस्त्र प्रहरीको महानिरीक्षक सरकारले चयन गर्नुपर्ने हुन्छ । त्यसमा वरियतामा एक नम्बरमा रहेका कारण एआईजी केसीको सम्भावना पनि छ ।
एआईजी केसी तिनै अधिकारी हुन्, जसले यसअघि पनि सशस्त्र प्रहरीको महानिरीक्षक बन्न आफ्नै महानिरीक्षकविरुद्ध लबिइङ र शक्तिकेन्द्र धाउँदै आएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिने केसीले ओली नेतृत्वको सरकारको पालामा आईजीपी खनाललाई हटाउन जोडबल गरे पनि सकेनन् ।
तर, यतिबेला नियमसंगत रुपमा २१ दिनका लागि भए पनि सशस्त्रको आईजीपी बन्न पाउने सम्भावना केसीलाई थियो । तर, सरकारले सशस्त्रमा एक दरबन्दी थप्ने र नयाँ एआईजीलाई नै महानिरीक्षक बनाउने तयारी गरेपछि उनको यो सपना पनि पूरा नहुने देखिएको हो ।
स्रोतका अनुसार गृह मन्त्रालयले दरबन्दी थपका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको छ भने अर्थ मन्त्रालयसँग पनि छलफल भएको छ । अर्थ मन्त्रालयले पनि ‘ग्रीनसिग्नल’ दिएकाले अब मन्त्रिपरिषदमा प्रस्ताव पेस गरी फागुना पहिलो सातासम्ममा निर्णय गराइने तयारी गरिएको छ ।
सशस्त्रको कार्य र सीमा सुरक्षा विभागलाई छुट्याएर एक एआईजीको दरबन्दी सृजना गर्न लागिएको हो । सशस्त्रमा अर्को प्रशासन तथा मानव स्रोत विभागमा पनि एआईजीको दरबन्दी छ । एक दरबन्दी थपिएसँगै सशस्त्रमा एआईजीको संख्या ३ हुनेछ ।
सशस्त्र प्रहरीमा हाल दुई डीआईजीहरु अवकाशको क्रममा छन् । हाल प्रवक्ता रहेका डीआईजी मन्दीप श्रेष्ठ र खड्गजीत राईले २६ माघमा अनिवार्य अवकाश पाउँदै छन् । गत वर्ष उनीहरुको डीआईजीमा एक वर्ष कार्यकाल थपिएको थियो ।
त्यसैले अब एआईजी बन्ने दौडमा वरियताका आधारमा डीआईजीहरु राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश (सीपी) गौतम छन् । वरियतामा सबैभन्दा अघि भएकाले डीआईजी अर्याल हालका महानिरीक्षक खनालले अवकाश पाएपछि वा नयाँ सृजना हुने दरबन्दीमा एआईजी बन्ने सम्भावना बढी छ । नयाँ एआईजी बन्ने अधिकारीले नै महानिरीक्षक बन्ने सौभाग्य पाउने भएका छन् । (पर्दाफास डटकम)