काठमाडौं। सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रस्ताव राखेपछि यसै सातादेखि सुरु हुनुपर्ने तीनै तहका सरकारको निर्वाचन प्रक्रियामा असर पुगेको छ। निर्वाचन आयोगले ऐनअनुसार माघको पहिलो साता नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरी तयारी थाल्नुपर्ने सुझाव दिए पनि सरकार लाचार बन्नुमा प्रचण्डको नयाँ तुरुपले काम गरेको हो।
५ दलीय गठबन्धन गरी नेकपा एमालेलाई संघीय र प्रदेश सरकारबाट हटाएका प्रचण्डले आगामी चुनावबाटै रिङ आउट गर्ने रणनीति र माओवादीको ह्रास भएको राजनीतिक शक्तिलाई उठाउनका लागि स्थानीय तहभन्दा अघि नै संघीय संसदको निर्वाचनको प्रपञ्चको कार्ड फ्याँकेका छन्। यसमा नेपाली कांग्रेसका तर्फबाट बरिष्ठ नेता रामचन्द्र पौडेललाई कन्भिन्स गराइसकिएको छ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि साथमा लिइएको छ।
‘स्थानीय तहको चुनावमा माओवादीले जित्ने सम्भावना कम रहेको र एमाले नै बलियो हुने भएपछि संघीय चुनावको तुरुप फ्याँकिएको हो, कांग्रेसलाई समेत विभाजन गरी बीचबाट माओवादीलाई स्थापित गराउने रणनीति प्रचण्डको हो’, उच्च स्रोतले भन्यो,‘विदेशी शक्तिको इसारामा नै प्रचण्डले यस्ता हर्कतपूर्ण प्रस्तावलाई अगाडि सारीरहेका छन्।’
संघीय संसदको चुनावमा जानुको प्रस्तावको कारणमा प्रचण्डले प्रतिनिधि सभामा एमालेको निरन्तर अवरोधलाई कारण देखाएका छन्। यस विषयमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाचाहिँ स्पष्ट हुन सकेका छैनन्। कांग्रेसभित्रको पदाधिकारीले अहिले प्रचण्डका एजेन्डामा मात्रै हिँड्दा कांग्रेसको लिगेसीमा प्रश्न आउने भन्दै संविधानले तय गरेको सीमारेखामा स्थानीय तह, प्रदेश र प्रतिनिधिको चुनाव हुनुपर्ने अडान राखेका कारण देउवा नाजवाफ छन्।
संघीय चुनावअघि स्थानीय तहको मिति तय भए त्यसबेला कांग्रेस गठबन्धन तोडेर मैदानमा उत्रिने र एमालेको रणनीति सफल हुने भएपछि प्रचण्डले नयाँ प्रपञ्च रचेका हुन्। ‘स्थानीय तहको चुनावमा नै गठबन्धन भत्कियो भने संघीय चुनावसम्ममा जोडिने सम्भावना हुँदैन’, स्रोतले भन्यो,‘त्यसैकारण प्रचण्ड चुनावमा गठबन्धनकै रणनीतिका नाममा आफ्नो राजनीतिक साख जोगाउने षडयन्त्रमा छन्।’
गठबन्धनमा रहेका ५ वटै दलले एमालेसँग एकल भिँड्न कठिन हुने निचोड पनि निकालेका थिए। यस्तै मधेसमा पनि जनता समाजवादी पार्टीलाई एक्लै चुनावी मैदानमा जान सकस हुने प्रचण्डको भनाईले कन्भिन्स गरेको बताइन्छ।
‘अरुलाई हराउने भन्दा पनि प्रचण्डले माओवादीलाई कसरी जोगाउने भन्ने खेल खेलेका छन्। माओवादीको एउटा हिस्सा एमालेमा समाहित भएको र एमालेलाई भनेजसरी भत्काउन नसकिएको भन्ने प्रचण्डको बुझाई छ’, खुमलटारनिकट उच्च स्रोतले भन्यो,‘त्यसैले पनि गठबन्धन र स्थानीय तहभन्दा पनि संघीय चुनाव पहिला हुनुपर्छ भन्ने मान्यता शक्ति आर्जनको रणनीति नै हो।’