काठमाडौं। हिंसा भड्काउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार मन्त्री रेणु यादवको राजीनामा माग गरेपछि मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने चर्चा थियो। उक्त विषय सत्ता गठबन्धनको बैठकमा पनि उठ्ने अड्कल काटिएको थियो।
तर न प्रधानमन्त्री देउवाले राजीनामा माग गरेर सम्बोधन गरे, न त त्यसपछि भएको गठबन्धन बैठकमा नै उक्त विषयको चर्चा भयो। जनमत पार्टीका अध्यक्ष सीके राउतको गौरमा हत्या गर्ने चेतावनी दिएकी मन्त्री रेणु यादव सत्ता गठबन्धन घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवनिकट हुन्।
अध्यक्ष यादवको नजिक र प्रिय भएका कारणले नै उनले सरकारमा भौतिक मन्त्रालय पाएको दाबी गरिएको थियो। अहिले राजीनामा नमाग्नका लागि अध्यक्ष यादवले नै दबाबमा दिइरहेको बताइएको छ। मन्त्री पदबाट रेणु यादवलाई फिर्ता बोलाउन प्रधानमन्त्री देउवाले उपेन्द्र यादवलाई सुझाव दिएको चर्चा थियो।
‘यसअघि प्रश्न उठ्नासाथ र विवाद हुनासाथ धेरै मन्त्रीले राजीनामा दिएका पर्याप्त उदाहरण छन् तर यो गठबन्धनमा मन्त्री खानका लागि नै पुगेकाहरूले नैतिकतामाथि प्रश्न उठ्दा राजीनामा दिएनन्’, स्रोतले भन्यो।
यसअघि मन्त्री पदमा रहँदा नै प्रश्न उठ्दा प्रभु साह, हरि पराजुली, शरतसिंह भण्डारी, गोकुल बास्कोटा, शेरबहादुर तामाङले राजीनामा दिएका थिए भने डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा विवादीत काम गरेको भनी श्रममन्त्रीबाट सरिता गिरीलाई बर्खास्त गरिएको थियो।
यता एमालेले भने रेणु यादवको तत्काल राजीनामा आउनुपर्ने माग गरेको थियो। मन्त्री यादवले आफ्नो बचाऊ गर्न खोजे पनि उनले खुलेआम गौरमा मधेस आन्दोलनताका भएको २७ जनाको पासविक हत्या जस्तै सीके राउतले परिणाम भोग्न तयार हुनुपर्ने बताएकी थिइन्। उक्त भाषणको भिडिओ सर्वत्र प्रमाणका रुपमा सार्वजनिक पनि भइसकेको थियो।