काठमाडौं। शेरबहादुर देउवा नेतृत्वको अलोकप्रिय सरकारका पर्यटनमन्त्री प्रेम आले भने सस्तो लोकप्रियताका निम्ति अनेक हत्कण्डा मच्चाउन उद्दत भएका छन्। उनले अघिल्लो सरकारका पर्यटनमन्त्री तथा एमाले सचिव योगेश भट्टराईको हुर्मत लिन समेत सुरु गरेका छन्। जबकि, भट्टराई प्रतिनिधि सभा विघटनपछि केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्री पदबाट राजीनामा दिएका नेता हुन्।
सोही बेला मन्त्री बन्नका लागि ओलीको पाउ मोलेका आले आलोचित थिए। ओली सरकारमा बनमन्त्री हुँदा सुदूरपश्चिमका एमाले नेता भिम रावलको आलोचना गरेर नथाक्ने आले मन्त्री हुनका लागि नै माधवकुमार नेपालको पार्टीमा प्रवेश गरेका थिए। अहिले नारायणहिटी दरबार संग्राहलय प्रकरणमा ‘क्रेडिट’ लिनका लागि आले पूर्वमन्त्री भट्टराईको आलोचनामा मिडियाबाजीसम्म गर्न तल्लिन छन्। जबकि, उक्त प्रकरणमा आफूलाई दोषी साबित गर्नका लागि भट्टराईले चुनौति दिइरहेका छन्।
‘आफूलाई चर्चामा ल्याउनका लागि आलेले विभिन्न हतकण्डा गरेका हुन्। खासमा यस प्रकरणमा उनले केही पनि गरेका छैनन्। कुनै मिडियाको समाचारका आधारमा मन्त्री आले सक्रिय भएको देखिन्छ’, स्रोतले भन्यो,‘अहिले त्यहि मिडियाको अभियानमा उनी अझ तल्लिन भएर लागेको पाइन्छ।’
उनले आनन्द बतासको कम्पनीले बनाएको धर्मशालाको पनि आइतबार निरिक्षण गरेका छन्। उक्त निरिक्षण पनि आलेको चर्चामा रहीरहने एउटा प्रहसन भन्दा केही पनि नभएको स्पष्ट देखिएको छ।
‘सस्तो लोकप्रियतामा रमाउनका लागि आले आफूलाई गतिशील देखाउने तयारीमा छन्। मन्त्री बन्नका लागि सांसद र पार्टी फूटाउन सहयोग गर्छु भन्ने सर्तमा माधव नेपालसँग पुगेका व्यक्तिको नैतिकता कति होला?’, स्रोतले भन्यो।
पूर्वमन्त्री तथा एमाले सचिव भट्टराईले त आलेसँग आफ्नो तुलना नै हुन नसक्ने ठोकुवा गरिसकेका छन्। जो व्यक्ति पार्टी फुटाउनका लागि मन्त्रीको सर्त अघि सारेर मान्छेका टाउको गन्न तयार हुन्छ त्यस्ताले फूर्ति लगाउन कुनै नयाँ कुरा नभएको भट्टराईको टिप्पणी छ।
नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा लामो समयसम्म पनि नजाँदा आले र श्रममन्त्री बनाइएका किसान श्रेष्ठ प्रधानमन्त्री देउवाकहाँ मन्त्री बनाइदिनका लागि ढोग गर्न पुगेका थिए। तर देउवाले नेता नेपालको स्वीकृति लिएर आउन भनेका थिए।
‘जसले आफ्ना नेतालाई समेत जानकारी नदिई मन्त्री बन्नका लागि बालुवाटार र अन्यत्र धाउँछ त्यसले अहिले स्टन्ट गर्नुको के अर्थ हुन्छ र?’, स्रोतले भन्यो,‘आले सस्तो लोकप्रियता कमाउनका लागि उद्दत छन्। यीनलाई साधारण ज्ञान पनि छैन।’