काठमाडौँ । तरलता अभाव बढेसँगै बैंकहरुले कर्जाको ब्याज आफुखुसी बढाउन थालेको गुनासो राष्ट्र बैंकमा आउने क्रम बढेको छ ।
कर्जाको ब्याजमा प्रिमियम बैंकहरुले आफुखुसी परिवर्तन गरेर नयाँ ब्याजदर कायम गर्न थालेपछि राष्ट्र बैंकले यसमा अध्ययन अघि बढाएको छ ।
राष्ट्र बैंकको एकिकृत निर्देशन अनुसार कुनैपनि बैंकले आफ्ना ऋणीको कर्जामा प्रिमियम बढाउँदा स्वीकृति लिनुपर्ने उल्लेख गरेको छ ।
बैंकहरुले आधार दर बढेसँगै कर्जाको ब्याज परिवर्तन गर्न पाएपनि आधार दरमा जोडिने प्रिमियम भने परिवर्तन गर्न पाइदैन । बैंकहरुले ग्राहकसँग छलफल गरेर यस्तो प्रिमियमदर जोड्ने गरेका हुन्छन् । तर पछिल्लो समय बैंकमा लगानीयोग्य रकमको अभाव भएपछि बैंकहरुले ग्राहकलाइै जानकारी नै नदिई ब्याजदर परिवर्तन गरेका छन् ।
अधिक तरलता भएका बेलामा ग्राहकलाई बोलाएर ऋण दिने बैंकहरु लगानीयोग्य रकमको अभाव भएपछि तिनै ग्राहकबाट नियम बिपरित रकम उठाउन थालेका छन् ।
नियमबिपरित प्रिमियिम उठाउन थालेपछि राष्ट्र बैंकले बैंकहरुसँग तत्कालै तथ्यांक मगाएको छ । यसरी नियमबिपरित प्रिमियम बढाउनेहरुलाई कार्वाहि गर्ने तयारी रहेको समेत राष्ट्र बैंकले जनाएको छ ।