काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच केही दिनअघि भएको ‘वान टु वान’ वार्ताले एउटा भयानक राजनीतिक मोड ल्याउन सक्ने विश्लेषण गरिएको छ।
प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेको एमालेलाई फकाउनका लागि देउवा बालकोट पुगेका थिए। ओलीले सभामुख अग्नी सापकोटाका कारणले बाध्यतामा सदनमा अवरोध गरेको बताएका थिए। एमालेको माग १४ जना सांसदलाई कारबाही सदर गर्नुपर्ने रहँदै आएको छ।
नेकपा एकीकृत समाजवादीमा रहेका माधवकुमार नेपालसहित १४ जनालाई एमालेले कारबाही गरेको थियो। एमसीसीलगायतका विषयले अहिले देउवा दबाबमा छन्। तर उनले सदन खुलाउनका लागि सत्ता गठबन्धनमा रहेको समाजवादी पार्टीका सम्बन्धमा कुनै निर्णय गर्न सक्ने अवस्था छैन। तर, एमालेले उक्त मुद्दा सर्वोच्च अदालतमा पनि दायर गरेको छ।
अदालतमा विचाराधिन रहेको मुद्दामा एमालेको कारबाहीलाई सदर गराएर नयाँ राजनीतिक मोडअनुसार अगाडिको बाटो तय हुनसक्ने विश्लेषण गरिएको छ। सोमबार उक्त मुद्दा पेशीमा चढेको छ।
‘सोमबार नै सुनुवाई हुन नसकेकोे खण्डमा पनि यो मुद्दाको छिनोफानो हुनसक्छ’, उच्च स्रोतले भन्यो,‘जसरी नेकपा ऋषि कट्टेलका हातमा पुग्दा एमाले र माओवादी ब्युँतियो त्यसरी नै माधव नेपाललगायतको सांसद पद खारेज हुने सम्भावना पनि छ।’
सभामुख सापकोटाले एमालेको निर्णयलाई कार्यान्वयन गरेका थिएनन्। उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दबाब रहेको छ। ‘वान टु वान’ वार्ताको अर्थ कुनै न कुनै समाधान निकाल्ने र नयाँ मोडितिर लैजाने हुन सक्ने बताइएको छ।