बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कसरी विवादमा तानिन्छिन् भाउजू ‘फर्स्ट लेडी’

सोमबार, पुष २६ २०७८

काठमाडौं। नेपाली कांग्रेसकी नेत्री हुन् आरजु राणा। उनको राष्ट्रिय परिचयचाहिँ प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी अर्थात् फर्स्ट लेडीको हो। तर विभिन्न विवादीत प्रकरणमा उनको नाम जोडिनुका साथै बालुवाटारबाट हुने अनेक सेटिङकी प्रमुख पात्रका रुपमा पनि उनको चर्चा गरिन्छ।

हालै मात्र विवादमा आएको बतास समूहका अनेक प्रकरणमा राणाको संलग्नता रहेको बताइन्छ। बतास समूहको सल्लाहकारका रुपमा रहेकी उनको नाम यसबेला भने हटाइएको छ। आफू सल्लाहकार नरहेको राणाले स्पष्टोक्ति दिए पनि राज्यका हरेक निकायमा हुने चलखेलमा उनको नाम जोडिन्छ।

‘प्रधानमन्त्रीको सचिवालयदेखि मन्त्रालय र विभिन्न निकायमा राणाको हुकुम चल्छ, विवादीत व्यक्ति उनलाई भेट्नका लागि बालुवाटार पुग्छन्’, उच्च स्रोतले भन्यो,‘टेन्डरदेखि हरेक क्षेत्रमा शक्ति केन्द्रको हस्तक्षेप गर्नुपर्दा प्रधानमन्त्री निवासमा राणालाई नै गुहारिन्छ।’

प्रतिनिधि सभा पुनःस्थापनाका लागि पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अदालतमा आरजुमार्फत नै कुरा मिलाएको बताइएको छ। उक्त सेटिङका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई आरजुमार्फतै अफर गरिएको पनि चर्चा छ।

जसरी प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीमार्फत काम गराउन विष्णु रिमाललगायतको चर्चा हुन्थ्यो, अहिले देउवामार्फत काम गर्नका लागि राणाकै हालीमुहाली हुने गरेको स्रोतहरूको दाबी छ। ‘एउटा सरुवा बढुवाका लागि पनि आरजुको हस्तक्षेप हुने गरेको छ। सुरक्षा निकायदेखि कर्मचारीतन्त्रसम्म उनलाई नै भेट्न र कुरा मिलाउन पुग्छन्’, स्रोतले भन्यो।

प्रधानमन्त्री देउवाको सचिवालय विस्तार भइनसकेका कारण हरेक काममा राणाको हस्तक्षेप बलियो रहेको स्पष्ट देखिन्छ। देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा राणा नै त्यहाँ पुगेकी थिइन्। यद्यपि अहिले उक्त भ्रमण कोभिडका कारण स्थगित भइसकेको छ।

‘परराष्ट्र सल्लाहकार वा मन्त्रीले गर्ने काममा पनि आरजुको दौडाहाले नै उनको सक्रियता कुन हदसम्म हुने गर्छ भन्ने पुष्टि गर्दैन र?’, उच्च स्रोतले प्रश्न ग¥यो,‘उनी फस्र्ट लेडीको सीमा भन्दा निक्कै अगाडि बढेर काम गरिरहेकी छन्।’

सामान्यतया विदेश भ्रमणमा प्रधानमन्त्रीसँगै उनकी पत्नी जाने र विदेश मामिला सल्लाहकारलगायतले पूर्वतयारी गर्ने प्रचलन हुन्थ्यो। तर, आरजुले उक्त रीतिलाई पनि तोडिदिएकी हुन्।

आरजुमार्फत नै उमेश श्रेष्ठलाई मन्त्री नियुक्त गरिएको चर्चा यसअघि थियो। श्रेष्ठसँग व्यावसायीक साझेदारी रहेका कारण आरजुले ठूलो आर्थिक चलखेलमा मन्त्री नियुक्त गरेको चर्चा थियो। त्यसको सर्वत्र विरोध भएको थियो भने प्रधानमन्त्री देउवाको सत्ता गठबन्धनमा नै आलोचना भएको थियो। श्रेष्ठ अहिले प्रधानमन्त्री कार्यालय हेर्छन्।

‘सचिवालय बन्यो भने उसका हरेक विधामा काम गर्ने मान्छे हुन्छन् जहाँ आरजुको हालीमुहालीमा कमी हुन सक्छ। त्यसैले सचिवालय विस्तारमा उनी नै तगारो बनेकी छन्’, स्रोतले भन्यो,‘नाम भन्दा पनि उनले बदनामी र आलोचना कमाउन थालेकी छन्। यसले कांग्रेसलाई र प्रधानमन्त्रीलाई पनि घाटा गर्छ।’