काठमाडौँ l जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्व-प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताएका छन्।
मुलुकमा विकास र समृद्धिको कामलाई गतिका साथ अघि बढाउन राजनीतिक नेतृत्वले विज्ञहरुको ज्ञान, सीप र अनुभवको सदूपयोग गर्नुपर्ने पनि उनले स्पष्ट पारे।
राष्ट्रिय व्यापार संघले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकीहरुमा आएको परिवर्तनलाई आत्मासात गरेर राजनीतिक नेतृत्व अघि बढे मुलुकमा छिटोभन्दा छिटो विकास र समृद्धि हुने उनको भनाइ छ।
अध्यक्ष भट्टराईले व्यूरोक्रेसीमा मुलुकलाई समृद्ध बनाउने जनशक्ति भएको उल्लेख गर्दै त्यसलाई परिचालन गरेर अघि बढ्न पनि राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए। उनले अर्थतन्त्रको विकासका लागि व्यवसायीहरुले पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा जोड दिनुपर्ने खाँचो औंल्याए।
उनले भने, ‘यतिबेलाको हाम्रो मुख्य कार्यभार भनेको छिटोभन्दा छिटो विकास र समृद्धि नै ल्याउने हो। तर यसमा हुँदाहुँदै थेगो त सबैले थाल्नु भो, समृद्धि–समृद्धि। तर त्यो समृद्धि हो के? आउँछ कसरी? भनेर मात्रै आउँछ कि? त्यसपछि त्यसका खास नियमहरु बुझ्नु पर्छ। अर्थतन्त्रका विभिन्न क्षेत्रहरुको सन्तुलन मिलाउनु पर्छ। अर्थ मन्त्रालयमा म छँदाखेरी आएको परिणाम मेरो कारण मात्र नभइ मैले त उहाँहरुलाई हौसला दिएको मात्रै हो, व्यूरोक्रेसीमा क्षमतावान मानिसहरु हुनुहुन्छ। तर राजनीतिक नेतृत्वले चाहीँ आफूले जान्ने पल्टिने सबै क्षेत्रमा जानेको छु भन्ने र अनि बिगार्ने होइन। कसले जानेको छ, त्यो बुझ्ने र जानेको मान्छेलाई त्यो परिणाम ल्याउनुस् भन्ने हो। र त्यो भनेको अहिलेको नेपालमा विकास र समृद्धिको जुन कुराहरु छन्। त्यो भनेको कृषि, उद्योग र सेवाका क्षेत्रहरुको उचित सन्तुलन मिलाउने र र अहिले पनि जुन निर्वाहमूखि कृषिको बाहुल्यता छ। मुलुकमा विकास र समृद्धि ल्याउने हो भने गफ हाँकेर होइन, गुड्डी हाँकेर होइन, विज्ञहरुसँग ज्ञान, सीप र अनुभव सदुपयोग गरेर अगाडि लैजान सक्ने हो भने देश समृद्ध बन्न सक्छ। त्यसैले मुख्य कुरा भनेको राजनीतिक नेतृत्वको दृष्टिदोषले समस्या भइराखेको छ।’
अध्यक्ष भट्टराईले मुलुकबाट गरिबी निवारण नभइ व्यापार व्यवसाय फष्टाउन नसक्नेतर्फ पनि उद्योगी, व्यवसायीहरुले ध्यान दिनुपर्ने बताए।