प्रधानसेनापतिज्यू, आज नेपाली सेनाको सकल दर्जाको स्थान र अवस्था कस्तो छ भन्ने कुरा सायद भनिराख्नु पर्दैन होला । जसको उदाहरण सैनिक अभिलेखालयतिर नजर सोझ्याउँदा प्रस्ट हुन्छ । एउटा सिपाही देश द्वन्द्वको अवस्थामा हुँदा पनि आफ्नो देश र जनताको लागि कयौं दिन खाली पेट त कयौं पटक आफ्नै पैसाले किनेको सामान्य गोल्डस्टार जुत्ताले नेपालको कुना काप्चामा शान्ति स्थापना गर्न २४ सै घण्टा युद्धभूमिमा खटिएर कमाण्डरको एक आदेशमा आफ्नो जीवन आहुती दिन पछि परेनन् ।
आज तिनै जवानहरु खाली हात बिना पेन्सन जागिरलाई विश्राम गरी जागिरबाट अझै भनौं आफ्नो मातृभूमिबाट नै टाढा हुँदैछन् । एउटा १६÷१७ वर्षसम्म यस संस्थामा रगत र पसिना बगाएका व्यक्तिले बिना पेन्सन जागिरबाट बाहिरिँदा सायद कसको मन नरोला र ? आज सयौंका सयौं दिनहुँ जागिर छाड्नेकै भिडले अभिलेखालय भरिएको छ ।
चिफसाब के हजुरले पनि १६ वर्ष पुगेकालाई पेन्सन, सहितको स–सम्मान घर पठाउने पहलकदमी लिन सक्नुहुन्न ? हो, यसको निर्णय गर्ने त नेपाल सरकारले हो । तर, सेनाको प्राय प्रस्ताव सरकारले स्वीकृत गर्ने तर गरिबको छोरालाई नेपाली सेनाबाट अवकास लिएको ४ वर्षसम्म भोकै बस अनि मात्रै पेन्सन खा भन्न त एउटा मानवीय हिसाबले पनि नेतृत्व तहमा बसेकालाई नदेला नि । आखिर किन सेनाका सयौं जवानहरुले भटाभट जागिर छाडेर विदेश पलायन हुँदैछन् ।
आज राष्ट्र सञ्चालन गरेका प्रधानमन्त्री, मन्त्रीहरुले त यसलाई बेवास्ता गर्लान । तर एउटै पवित्र संस्थामा लडीबुडी गरी रगत पसिना बगाई आज नेपाली सेनाको नीति निर्माण तहमा रहनुभएका जर्सा’ब, चिफसा’बहरुले यस विषयमा अध्ययन गर्न उहाँहरुको जिम्मेवारी भित्र पर्दैन र चिफसा’ब ? आजको यस्तो मूल्यवृद्धिको अवस्थामा २०, २२ हजार तलबमा जवानले कसरी आफ्नो परिवारको पेट भर्न सक्छ र ? आज १ वटा बच्चा पढाउन कम्तीमा पनि मासिक रु ५, ७ हजार लाग्छ । दुईवटा कोठा भाडामा लिँदा रु. १०, १२ हजार त कोठाभाडा मात्र तिर्नुपर्दछ ।
फेरि विदेशी सेनाको जस्तो संस्थाले आफ्नो परिवारलाई राशन र स्वास्थ्य, शिक्षाको ग्यारेन्टी पनि त गर्दैन नि । अनि जागिर के को लागि खाने । आफ्नै परिवारको पेट भर्न पनि नसक्ने तलबे जागिरले आफ्नो परिवारको भविष्यको चिन्ता लिनु त धेरै परको भनौ आकाशको फल नै सावित भएको छ । अनि नेपाली सेनाको जागिर त्यागेर, आफ्नो जीवनको पर्वाह नगरी विश्वका कयौं द्वन्द्वग्रस्त देशमा जवानहरुको लर्काे लाग्नु अस्वभाविक पक्कै होइन ।
चिफसाब आज हाम्रो नेपाली सेना (संस्था) नेपालकै पहिलो धनी संस्थामा परिणत भएको छ । संस्थाको कल्याणकारी कोषको रकम पौने खर्बको नजिक पुग्दा आज संस्थामा आवद्ध जवानहरु भने देशकै अति विपन्न नागरिकमा सूचीकृत हुने स्थानमा पुग्नु भनेको मेरो संस्थाको ढुकुटी रकमलाई जवानको स्तरोन्नति हुने कुनै पनि काममा प्रयोग नहुनु नै सेनाको नीति हो त ? सेनाले २५ लाखको ऋण दिने व्यवस्था गरेपनि आज सयौं जवान सेनामा ऋण लिन झन्झटिलो भन्दै अप्ठ्यारो भिरमा फलेको फलको संज्ञा दिइरहेका छन् ।
श्रीमान् श्रीमतीको नाममा १ जनाको घर भए अरुले नपाउने रे । आज भूकम्पपछि पाखा पर्वतमा आफू जन्मेको ठाउँमा २ कोठाको भूकम्पको एउटा छाप्रो त सबैको छ । तर, गाउँको जमिन बेचेर वा मिसनको पैसा थपथाप गरी सदरमुकाम नजिक वा राजधानीको छेउभित्तामा ३, ४आना जग्गा बल्ल बल्ल लिएका जवानहरुलाई कमसेकम ४ कोठाको घर बनाउनलाई कल्याणकारी कोषबाट पाउने रकम इच्छुक जवानले निकाल्न दिन किन कन्जुस्याईं गर्नुप¥यो र ? घर भए पनि नभएपनि इच्छुक सैनिकले २५ लाख निकाल्न दिँदा संस्थाको आखिर के जान्छ । फेरि जागिर छाडेपछि बुझाउनुपर्ने भन्ने हल्ला चलाइएको छ ।
नत्र जागिर छोड्ने बित्तिकै ऋण बुझाउने हो भने ऋण नै नदिँदा भैगो नि । आज संस्थामा आवद्ध सैनिकका २ प्रतिशत परिवारले पनि आफ्ना बालबच्चा सैनिक स्कूलमा पढाउन पाउँदैनन् आखिर किन ? के आज संस्थाको लगानी एउटा साधारण बैंक र फाइनान्सजस्तै २, ४ वटा स्कूलमा मात्र लगानी गर्ने हो र ? संस्थाले आवश्यकता अनुसार स्कूल र कलेज सञ्चालन गरी अनिवार्य रुपमा १ देखि १२ सम्म आर्मी स्कूलमै निशुल्क पढाउन सक्ने आँट गर्न हालका प्रभुराम शर्मा चिफसाबले यस्तो नीति बनाउन सक्नु हुँदैन र ? नेपाली सेनाको इतिहासले कुन चिफसाबले कल्याणकारी कोषमा कति अर्ब रकम जम्मा गर्नुभयो भन्ने सम्झिँदैन ।
बरु कुन चिफसाबले सकल दर्जाको हितमा कल्याणकारी कोषमार्फत के के काम गर्नु भयो? कति स्कूल, कलेज, कति अस्पताल, उद्योग, जवानको लागि कति कल्याणकारी योजना र भौतिक प्रगति गर्नुभयो भन्ने अर्थ राख्दछ । त्यसैले आजसम्म नेपाली सेनामा धेरै व्यक्तिले नेतृत्व गर्नु भयो तर सिपाहीको मन मस्तिष्कमा १, २ जनाको मात्र स्मरण हुन्छ ।
जसले संस्था र आवद्ध सैनिकको स्तरोन्नतिमा केही सोचे, त्यसले चिफसाब आज संस्थामा कार्यरत सैनिक जागिर छाडेर अरबमा मजदुरी गर्न बाधय हुन्छ भने संस्था आज पौने खर्ब रकम बैंकमा राखेर सबैभन्दा धनी हुनुमा पनि खासै अर्थ राख्दैन । – नेपाली सेनाको भलो चिताउने सैनिक जवानहरु