काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार एक घन्टा गोप्य वार्ता भएको छ। सचिवालयका सदस्य समेत नराखी दुवैले गोप्य वार्ता गर्नुलाई अर्थपूर्ण मानिएको छ।
संसदको अवरोध खोल्ने आग्रहका साथ ओलीको भक्तपुर बालकोटस्थित निवासमा पुगेका प्रधानमन्त्री देउवाले संसदको अवरोधसहित एमसीसी विषयमा कुराकानी गरेको लख काटिएको छ। वार्ताबारे प्रधानमन्त्री देउवाको कुनै प्रतिक्रिया छैन भने ओलीले ‘राम्रो भयो’ मात्र भनेका छन्।
सदनको अवरोध खुलाउन र एमसीसीबारे एमालेको पोजिशनका निम्ति सत्ता गठबन्धन भत्काउनुपर्ने प्रस्ताव ओलीले राखेको अनुमान गरिएको छ। यसका अतिरिक्त माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी गठनका लागि सहजीकरण गर्ने सभामुख अग्नी सापकोटाका विषयमा पनि कुराकानी भएको बताइन्छ।
यद्यपि यी विषयको स्वतन्त्र पुष्टि गर्न कठिनाई रहेको सचिवालयका अधिकारीले बताएका छन्। दुई जनाबीच मात्र वार्ता भएका कारण कुन कुन एजेन्डामा छलफल भयो भन्ने बताउन मुस्किल रहेको ओलीको सचिवालयले जनाएको छ।