शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

ललिता निवास प्रकरणमा हाइप्रोफाइल जोगाउन प्रहरी र सीआईबीलाई कति दबाब पर्ला?

बिहिबार, पुष २२ २०७८

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) जिल्ला अदालत काठमाडौंमार्फत हाइप्रोफाइल व्यक्तिलाई ललितानिवास प्रकरणमा पक्राउ पुर्जी जारी गराउन सफल भएको छ।

उक्त प्रकरणमा मिहिन ढंगले अनुसन्धान गरिरहेको सीआईबीले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छादार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यात लगायत तीन सय जना भन्दा बढीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

सत्तारुढ पार्टी नेपाली कांग्रेसका नेता, अझ प्रधानमन्त्री शेरबहादुर देउवाका खास गच्छादार र सत्ताधारीसँग साँठगाँठ रहेका बस्न्यातविरुद्ध सीआईबी खरो रुपमा उत्रिएला त?

नेपाल प्रहरी राजनीतिक र सत्ताबाट प्रभावित हुँदै आएका कारण हाइप्रोफाइल पक्राउमा सीआईबी सक्रिय हुन नसक्ने अनुमान स्वभाविक गरिएको छ। अझ प्रधानमन्त्रीसहित विभागीय गृह मन्त्रालय समेत चलाएको कांग्रेसको छायाँका कारण सीआईबीले हाइप्रोफाइल पक्राउ गर्न नसक्ने बताइएको छ।

तर सीआईबीको नेतृत्व गरिरहेका प्रहरी नायव महानिरिक्षक (डीआईजी) धीरजप्रताप सिंहलाई प्रभावित बनाउन कति सम्भव होला? सिंह अपराध अनुसन्धानमा दख्खल राख्ने तथा प्रभाव र दबाबमा नआउने अधिकारी रहेका कारण कतिपयले पक्राउ पुर्जी जारी भएकालाई नछाड्ने अनुमान गरेका छन्।

तर सत्ता र प्रभावका आधारमा चल्ने संगठनभित्र डीआईजी सिंहले त्यस्तो कदम उठाए यसलाई दुर्लभ र साहसिक घटनाका रुपमा मानिने बताइन्छ। ‘प्रधानमन्त्रीको ग्रिन सिग्नल भयो भने पक्राउमा कुनै समस्या हुनेछैन तर अदालतलाई समेत प्रभावमा पारेर पक्राउ नपरेका गच्छादारलाई समात्न भने सजिलो छैन’, एक उच्च अधिकारी भन्छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै डामेका गच्छादारविरुद्धको मुद्दामा नै धरौटीमा रिहा गर्ने आदेश भएको थियो। त्यसअघि उनी अदालतमा हाजिरसम्म भएका थिएनन्। शक्तिका आडमा उनी निर्वाध घुमिरहेका थिए।

‘केपी शर्मा ओलीको सरकार हुँदा पनि नभएको दुर्लभ र सहासिक घटना होला भन्ने आश छैन तर प्रहरीले चाह्यो भनेचाहिँ अदालतको आदेश कार्यान्वयनमा त्यो हिम्मत देखाउन सक्नेछ’, ति अधिकारी भन्छन्,‘यो त प्रहरी नेतृत्वको शैली कस्तो छ भन्नेमा पनि भर पर्छ।’