काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको र गर्न लागेको दुई निर्णय नसच्याए विद्रोह हुने संकेत नेता शेखर कोइराला पक्षले देखाएको छ।
१४औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका कोइरालाले देउवाले हालै गरेका केन्द्रीय सदस्यको नियुक्तिमा आपत्ति जनाएका छन्। यसैगरी चुनावमा सत्ता गठबन्धन बनाएको खण्डमा विद्रोह समेत हुन सक्ने कोइरालाको चेतावनी छ।
कोइराला पक्षले बुधबार मात्र बैठक राखी यस्तो छलफल गरेको थियो। ‘पहिलो त केन्द्रीय सदस्य कुन मापदण्डका आधारमा मनोनित गरियो त्यसको जवाफ मागिएको छ। बरिष्ठ नेतामा शेखर कोइरालालाई बरियतामा राख्नुपर्ने पनि प्रमुख विषय हो’, स्रोतले भन्यो,‘अर्कोचाहिँ आगामी चुनावमा गठबन्धन बनाएर जान सकिँदैन। के फेरि कांग्रेस खुम्च्याउने तयारी हो? यो प्रश्न गरिएको छ।’
देउवा अब नसच्चिएको खण्डमा कांग्रेसमा विद्रोह हुन सक्ने सम्भावनामाथि पनि छलफल गरिएको छ। पहिलो चरणमा संगठनमा मनपरी गर्न नपाइने भन्ने विषयमा देउवालाई दबाब दिइनेछ।
महाधिवेशनपछि पहिलो पटक कोइराला पक्षको अलग भेला भएको थियो। उक्त भेलामा उनी प्यानलबाट बिजेता बनेका महामन्त्री, उपसभापतिमा पराजित चन्द्र भण्डारीलगायत सहभागी थिए। ‘कांग्रेसभित्र हामी एउटा निर्णायक शक्ति पनि हौं भन्ने विषयमा सभापतिले नजरअन्दाज गर्न मिल्दैन’, कोइरालाले भनेका छन्,‘कुन मापदण्डका आधारमा निर्णय भइरहेका छन् त्यसबारे प्रश्न उठिसकेको छ।’