काठमाडौं। नेपाल प्रहरीका उपरिक्षक (एसपी) हिराबहादुर पाण्डेलाई प्रहरी प्रधान कार्यालयले तीन महिनाका लागि निलम्बन गरेको छ।
प्रधान कार्यालयले पहिला उनलाई जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुखबाट हटायो। यो घटनाको विकासक्रमचाहिँ एउटा अभियुक्तलाई सत्तारुढ नेपाली कांग्रेसका सिरहा सभापति रामचन्द्र यादवले छाड्नका लागि दिएको दबाब पाण्डेले नमानेपछि सुरु भएको थियो।
त्यसपछि कांग्रेस जिल्ला सभापति यादवले पाण्डेलाई सरुवा गर्ने धम्की दिए। सिरहामा प्रमुख भएर पुगेको ६ महिनामा नै यस्तो धम्की आएपछि दुवैबीच विवाद भएको थियो।
गठबन्धन सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् भने गृहमन्त्री बालकृष्ण खाँण छन्। यसैको प्रभावका आधारमा यादवले एसपी पाण्डेलाई रातारात सरुवा गराइदिए।
उक्त प्रकरणबाट विवाद केही लम्बियो। यसपछि गृह मन्त्रालयको आदेशमा प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन नै गरिदियो।
सरुवाको विषयमा एसपी पाण्डेले यादवलाई गोली हान्ने धम्की दिएको विवरण सतहमा प्रचार गरिएको छ। तर, त्यसको पुष्टि न यादवले गरेका छन् न जिल्लाका अन्य अधिकारीले। यद्यपि, अभियुक्त छाड्न दबाब दिएको भन्ने विषयबाट विवाद भएको पाण्डे स्वयम्ले स्वीकार गरेका छन्।
एसपी पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले बताएका छन्। घटनाबारे थप अनुसन्धान गरिने एसएसपी कुँवरले बताए। सिरहामा एसपी अर्जुन तिमिल्सिनालाई पठाइएको छ।