बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कमल थापाको छटपटीले भन्छ– राप्रपा फेरि फुट्छ!

मंगलबार, पुष २० २०७८

काठमाडौं। एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनविरूद्ध खुलेर लागेका छन्। यसका साथै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई हराएको हाकाहाकी भन्न थालेका छन्।

विभाजन र एकता हुँदै आएको राप्रपा अब फेरि फुटाउने तरखरमा कमल थापा लागेका छन्। अध्यक्ष लिङ्देन आगामी निर्वाचनमा राप्रपालाई बलियो शक्ति बनाउनका लागि वैकल्पिक राजनीति भनिएको विवेकशील साझासँग कार्यगत एकताका निम्ति अघि बढेका छन्।

पार्टीभित्र पद मात्र लिने र काम नगर्नेलाई अध्यक्ष लिङदेनले कारबाही सुरु गरेपछि थापाको छटपटी अझ बढेको छ। उनी लिङ्देनले उठाएका अनेक कदमको विरोधमा खुलेर सामाजिक सञ्जालमा आलोचना गरिरहेको भेटिन्छन्।

‘अध्यक्ष बन्नका लागि र पदका लागि थापाले जे पनि गरेको इतिहास छ। उनले राप्रपा पटक–पटक विभाजन गरेका छन्। फेरि पनि गर्छन्’, एक नेताले भने,‘पदबिना बस्न नसक्ने आचरण भएका व्यक्ति हुन्।’

एकता महाधिवेशनमा भने आफू कुनै पनि हालतमा अब राप्रपा विभाजनको पक्षमा नभएको थापाको दाबी थियो। उनले अध्यक्ष पदमा आफू जित्ने अभिमानका साथ यस्तो बताएका थिए। तर, प्रतिनिधिले उनलाई पराजित गरिदिए।

‘शपथ ग्रहणको कार्यक्रममा सहभागी नहुनु, कार्यालयमा पनि नजानुले थापा कुनै छटपटी र गुटबन्दीमा लागेको स्पष्ट संकेत दिन्छ’, एक नेता भन्छन्,‘तर राप्रपा विभाजनबाट रोक्नका लागि अधिकतम अभ्यास हुनेछन्।’