काठमाडौं । आसन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनले भागबण्डा मिलाएका छन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले चुनाव हुन लागेका १९ सिटको बाँडफाँड गरेका हुन् ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको संयुक्त बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने सहमति गरेका हुन ।
सहमति अनुसार कांग्रेसको भागमा ६ सिट , माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् । सोही अनुरुप उनीहरुले साझा उम्मेद्वार बनाउने भएका हुन् ।
खाली हुने १९ सिटमध्ये ८ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरुको कार्यकाल सकिंदै छ ।
एमालेले जितेको आठ सिटमा कांग्रेसले ३, जसपाले २, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले १–१ सिट पाउने गरी भागबण्डा गरिएको हो ।
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलिबाट उम्मेद्वारी दर्ता हुदै छ ।