शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कांग्रेसमा सुरु भयो देउवा धृष्टान्त

सोमबार, पुष १९ २०७८

काठमाडौं। नेतृत्व परिवर्तन गर्न नसकेको नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको दबदबा कायम रहेको छ। अझ नेकपा माओवादी केन्द्रसँगको गठबन्धन र तिनका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई परिवर्तनका नेता भनेपछि देउवाइतरले आलोचना गरेका छन्। तर त्यो कुनै अर्थपूर्ण हुन नसक्ने स्पष्ट चित्र देखिन थालेको छ।

देउवाले सभापति निर्वाचित भएपछि आफ्नो अधिकारको प्रयोग गर्न थालेका छन्। पहिलो कार्यकालमा जस्तै यस पटक पनि उनले अधिकारको मनपरी प्रयोग सुरु गरेका छन् जसका कारण पदाधिकारीमा जिते पनि युवा पुस्ताका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरूको खासै प्रभाव नरहने साबित भइसकेको छ।

देउवाले केन्द्रीय समितिमा केही पराजित नेतालाई मनोनित गरेका छन्। उनले सभापति पदमा नै पराजित भएका प्रकाशमान सिंह, विमलेन्द्र निधि, उपसभापतिमा पराजित विजयकुमार गच्छादार, सुजाता कोइराला, महामन्त्रीमा पराजित डा. प्रकाशशरण महतलगायतलाई केन्द्रीय समिति सदस्यमा मनोनित गर्दै परम्परागत लय समातेको सन्देश दिएका छन्।

महाधिवेशनमा सहभागी नभएका रामचन्द्र पौडेल र उनलाई सहयोग गरेका कृष्ण सिटौलालाई पनि देउवाले मनोनित गरेका छन्। उनले समातेको लय लोकतान्त्रिक मानक भन्दा भिन्न रहेको बताइएको छ।

केही समयअघि वरियता सार्वजनिक गरेका देउवाले उनका निकटतम स्पर्धी डा. शेखर कोइरालालाई २० औं नम्बरमा राखेका थिए। यस हिसाबले उनले कोइरालालाई पाखा र अन्यलाई काख गरेको आरोप पनि लागेको छ। ‘देउवाले यो कार्यकालमा पनि कांग्रेसमा आमूल परिवर्तनको बाटो समात्ने लक्षण देखिएन’, एक नेता भन्छन्,‘कांग्रेस परिवर्तन हुनका लागि कम्तिमा सभापति फेरिनु आवश्यक थियो, अन्य पदाधिकारीको खासै दम हुँदैन।’

देउवा यसरी नै अगाडि बढे आगामी ५ बर्षभित्र नेपाली कांग्रेसको पोजिसन झनै बिग्रने कतिपयले बताएका छन्। ‘नेतृत्व परिवर्तनको बहस तल्लो तहसम्म भएको थियो तर सम्भव हुन सकेन। कतिपय हुंकार गर्नेहरु नै देउवाको शरणमा पुगेपछि आगामी ६ बर्षमा कांग्रेसको गति के होला भन्ने चिन्ता बढेको छ’, एक नेता भन्छन्,‘देउवाको यो दबदबाले कांग्रेसका भ्रातृ संगठनहरू पनि कमजोर बन्दै जाने निश्चय नै हुने देखिन्छ।’