काठमाडौं । सर्वसम्मत केन्द्रीय सदस्य चयन गरेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । आठौं महाधिवेशनपछि आज बस्न लागेको पहिलो बैठकले पार्टी पदाधिकारी चयन गर्ने माओवादीले जनाएको छ ।
माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समिति बैठकले १५ पदाधिकारी र थप केन्द्रीय सदस्यको मनोनयन गर्नेछ । अध्यक्ष पुष्पकमल दाहालले हिजो २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेसँगै आठौँ महाधिवेशन सकिएको हो ।
खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको थियो।
कतिपयले भने निर्वाचन नगरेर माओवादीले आन्तरिक लोकतन्त्रको खिल्ली उडाएको प्रतिक्रिया दिएका छन् ।
२०४४ सालदेखि निरन्तर पार्टी नेतृत्वमा रहेका अध्यक्ष दाहाल नै फेरि अध्यक्ष चुनिने निश्चित छ । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा समस्या नभए पनि महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको दाबी छ । पम्फा भुसाल र शक्तिबहादुर बस्नेतको पनि महासचिवमा दाबी छ । पदाधिकारीमा करिब करिब सहमति भइसकेको नेतृत्वले बताएको छ ।