बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस सभापति देउवाले समातेको लयः कोइरालालाई पाखा, पराजितलाई काख

आइतबार, पुष १८ २०७८

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा केही पराजित नेतालाई मनोनित गरेका छन्।

उनले सभापति पदमा नै पराजित भएका प्रकाशमान सिंह, विमलेन्द्र निधि, उपसभापतिमा पराजित विजयकुमार गच्छादार, सुजाता कोइराला, महामन्त्रीमा पराजित डा. प्रकाशशरण महतलगायतलाई केन्द्रीय समिति सदस्यमा मनोनित गर्दै परम्परागत लय समातेको सन्देश दिएका छन्।

महाधिवेशनमा सहभागी नभएका रामचन्द्र पौडेल र उनलाई सहयोग गरेका कृष्ण सिटौलालाई पनि देउवाले मनोनित गरेका छन्। उनले समातेको लय लोकतान्त्रिक मानक भन्दा भिन्न रहेको बताइएको छ। केही समयअघि वरियता सार्वजनिक गरेका देउवाले उनका निकटतम स्पर्धी डा. शेखर कोइरालालाई २० औं नम्बरमा राखेका थिए।

यस हिसाबले उनले कोइरालालाई पाखा र अन्यलाई काख गरेको आरोप पनि लागेको छ। ‘देउवाले यो कार्यकालमा पनि कांग्रेसमा आमूल परिवर्तनको बाटो समात्ने लक्षण देखिएन’, एक नेता भन्छन्,‘कांग्रेस परिवर्तन हुनका लागि कम्तिमा सभापति फेरिनु आवश्यक थियो, अन्य पदाधिकारीको खासै दम हुँदैन।’

देउवाको अघिल्लो कार्यकालको कार्यशैलीको व्यापक आलोचना भएपछि गएको महाधिवेशनमा उनीविरुद्धको मोर्चा बलियो बनाउनेगरी इतर समूह कस्सिएको थियो। तर, अन्तिम अवस्थामा देउवालाई नै सहयोग गरेपछि आलोचना भएको थियो।