काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा शनिबारदेखि नेतृत्व चयन प्रक्रिया सुरु भएको छ। पहिलो चरणमा विधान मस्यौदा पारित गरी केन्द्रीय समिति निर्धारण हुनेछ।
३५ प्रतिशत महिला र ४० प्रतिशत युवा समावेश गरिएको २९९ सदस्यीय केन्द्रीय समितिमा १५ पदाधिकारी रहने तय छ। अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध हुने सम्भावना छ। यसबाहेक बहुपदीय प्रणालीमा बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवको व्यवस्था गरिएको छ।
बरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको दाबी रहेको छ। अहिले पनि प्रचण्डपछिको वरियतामा उनी रहेका कारण बरिष्ठ उपाध्यक्षमा श्रेष्ठको दाबी रहेको बताइन्छ।
उपाध्यक्षमा बरिष्ठ नेताहरूलाई सर्वसम्मत गराउने प्रयत्न गरेका प्रचण्डले सकभर चुनावमा नलैजाने तयारी गरेका छन्। तर महासचिव र अन्य पदमा भने चुनाव हुन सक्ने आँकलन गरिएको छ। स्रोतले भन्यो,‘केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्ने भएकाले ठूलो झन्झट त नहोला तर सकभर सर्वसम्मत गर्ने प्रयत्नमा अध्यक्ष अगाडि बढ्नुभएको छ।’
महासचिवमा जनार्दन शर्मा, बर्षमान पुन र पम्फा भुसालको दाबी रहेको छ। माओवादीभित्र यहि पदलाई अहिलेका लागि आकर्षक र समीकरणका अलग कित्ताका रुपमा व्याख्या गरिएको छ।
नेता देब गुरुङलगायतलाई उपाध्यक्षमा ल्याउने तयारी प्रचण्डले गरेको स्रोतको दाबी रहेको छ।