काठमाडौ। खोटाङमा जन्मिएर धुलोबाट उठेका दिनेश सुनार गिनिज बुक अफ बलर््ड रेकर्डमा आफ्नै रेकर्ड तोडेर अभूतपूर्व उदय गरिरहेका छन्। हाल अमेरिकामा रहेका उनी विभिन्न अवार्ड जित्न पनि सफल भइरहेका छन्।
हालैमात्र उनले ग्लोबर युथ इम्पावरमेन्ट अवार्ड हात पारेका छन् भने उत्तर अमेरिकी क्षेत्रका प्रेरक व्यक्तिहरूको सूचीमा पनि पर्न सफल भए। दिनेश भन्छन्,‘मिहेनतलाई जारी राखेका कारणले धेरैले माया गर्नुभएको छ, म निरन्तर अझ मिहेनतमा सक्रिय छु।’
दिनेशको मूल विधा खेल हो र त्यसमा पनि ‘पार्कर’ उनको कौशलता हो। विश्वभर चर्चित रहेको पार्कर खेल जिम्न्यास्टिकको परिस्कृत रूपमा व्याख्या गरिन्छ।
पछिल्लो पटक दिनेशको ५औं विश्व रेकर्डचाहिँ अमेरिकामा कायम भयो। उनले ‘मस्ट ब्याकवार्ड समरसल्ट इन अ ट्रयाम्पोलाइन’ विधामा नाम लेखाउन सफल भए। यसअघि यस्तै विधामा चार पटक नाम लेखाइसकेका थिए। उनलाई पाँचौं रेकर्डको प्रमाणपत्रचाहिँ अमेरिकी सिनेटर सी. लिऊले न्युयोर्कको एउटा कार्यक्रममा हस्तान्तरण गरेका थिए। उनी वलर््ड फररनिङ पार्कर फेडेरेशन (डब्लुएफपीएफ)सँग पनि आवद्ध छन्।

युवाका लागि अमेरिकालगायत विश्वमा नै प्रेरणाको सुत्रका रुपमा उदय भइरहेका उनले क्यानडा, फिलिपिन्स, अमेरिकालगायतका युवामाझ कसरी कौशल बन्न सकिन्छ भन्ने प्रेरक चर्चा समेत गरिसकेका छन्। उनी भन्छन्,‘यो मौका मेरा लागि निक्कै उपयोगी बन्यो। अझ सिक्ने मौका पनि पाएको छु। संसारभरीका युवामाझ परिचयको आधार पनि मेरो खेलले नै दियो।’
लगनशीलता र मेहनतको कसी भएका कारण नै दिनेशले गिनिज बुकमा मात्र ५ खुड्किला पार गरिसकेका हुन्।
विर्खबहादुर सुनार र रीता सुनार छोरा दिनेश गाउँमा उफ्रिएको, उल्टिएको देख्दा के नै गर्ला भनी कुरा काट्नेहरू, उनको खेल देखेर आलोचना गर्ने समकक्षीहरूका लागि अहिले जिब्रो टोक्न थालेका छन्। कसल कुरा काट्यो भन्नेचाहिँ उनी हेक्का राख्दैनन्। आफ्नो यात्रामा अविचलित हुनुपर्छ भन्ने मान्यतामा बाँचेका उनी भन्छन्,‘लक्ष्यअनुसार नदीसरी बग्नुपर्छ। म त्यहि ध्याउन्नमा हुन्छु। सफलता असफलता भन्नेचाहिँ अरुले नै मुल्यांकन गर्ने चिज त हो नि।’
यहि खेल विधाले नेपाली चलचित्र उद्योगमा स्टन्टम्यानको काम गरेको अनुभव बटुल्ने मौका पाएका दिनेश भन्छन्,‘मलाई मेरो यहि कौशलताले केही मौका दिएको थियो। मैले अमेरिका गट्स ट्यालेन्टमा पनि भाग लिन पाएँ।’

नेपालमा ‘पार्कर’ खोज्दा निक्कै कम भेटिन्छन्। कम मध्येका पनि दिनेश यति तिक्ष्ण छन् की उनको तुलना सम्भवतः नेपालमा कसैसँग हुँदैन। उनले गिनिज बुकमा नाम लेखाउने यात्रा ‘मस्ट ट्विस्टिङ व्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलबाट सुरु गरेका थिए।
पहिलो पटक नाम लेखाएपछि उनलाई हौसला थपियो। आखिर असम्भव के नै रहेछ र भन्ने ठानेका उनले आफ्नै रेकर्ड तोड्दै नाम माथि नाम लेखाउन थाले। ‘अझ पनि नाम थप्ने मन छ’, उनी लक्ष्य सुनाउँछन्।
श्रीमति शर्मिला सुनारको सहयोग नै उनको यात्राको अर्को गतिलो पाटो हो। उनी यहि खेलमा सक्रिय रहँदा अभ्यासका क्रममा खुट्टा भाँचियो। उनको परिचय स्थापित गर्ने खेलको महत्वपूर्ण हिस्सा नै शरिरका सबै अंग हुन्। अझ मुख्य त खुट्टा हो। तर, हौसलाले नरोकेका कारण उनी अस्पताल बसेको १५ दिनपछि नै फेरि अभ्यासमा सक्रिय भएका थिए।

‘खुट्टा नै भाँचिएपछि भने सकिन्न कि भन्ने डर थियो। तर, हिम्मतले काम दियो। म अझ अघि बढ्न थालें’, उनी सुनाउँछन्।
पाँचौ पटक गिनिज बुकमा नाम लेखाउनका लागि अमेरिकामै उनलाई ग्रेटर एक्रोन, हिन्दु सेवा समितिका अध्यक्ष महानन्द लुइँटेल, भुटानी कम्युनिटी एशोसिएशन अफ एक्रोनका अध्यक्ष मनोरथ खनाल,उपाध्यक्ष आका खतिवडा, तेक्वान्दो मास्टर हर्क तिरुवा, सनसाइन प्रोप्राइटर तथा मास्टर कौशिला खनाल, श्री कर्माचार्यलगायतको उपस्थिति रहेको थियो। खेलका माध्यमबाट संघर्षका मैदानमा उनी क्यालिबर सुजको ब्रान्ड एम्बेस्डर भए। २०१७ देखि २०२० सम्म तीन बर्ष उनले ब्रान्ड एम्बेस्डरको भूमिका निभाए भने डिआरएन इलेक्ट्रोनिक्सको (२०१९–२०२१, नेपालको पहिलो इनर्जी ड्रिङ्क्स वाउ (२०२०–२०२१) सम्म ब्रान्ड एम्बेस्डर भए। उनले सन् २०१९ मा इन्करेजमेन्ट अवार्ड जिते। जपान र नेपाल बेस्ट पार्कर एथलेटिक वल्र्ड एस्ट्रा अर्डिनरी एबीलिटी ट्यालेन्ट पनि पाए, उनले।
चरा जसरी उड्ने, चितुवाको गतिमा दौड लगाउने र खतरासँग खेल्ने काम नै उनको नामको कारण बन्यो जसका कारण अहिले चर्चाको चुलीमा छन्। दिनेश भन्छन्,‘अभ्यास मेरो मित्र हो, नाम भनेको त मलाई माया गर्नेहरूले दिएको आशिर्वाद न हो।’