काठमाडौं । बङ्गलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली स्वदेश आइपुगेको छ ।
नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले स्वागत गरेका छन्। विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो ।
गत मङ्गलबार सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै स्वर्णपदक हात पारेको थियो ।
प्रतियोगितामा नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सन् २०१९ मा बङ्गलादेशमै भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि कब्जा गरेको थियो ।
त्यस्तै पुरुषतर्फ खेलमा भने नेपाल चौथो स्थानमा रह्यो । तेस्रो स्थानका लागि भएको भिडन्तमा उज्वेकिस्तानसँग नेपाल ३–० को सेटमा पराजित भएसँगै चौथो स्थानमा रहेको हो । पुरुष टोली पनि आजै स्वदेश फर्किएको छ ।