शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रचण्डको प्रस्तावमाथि भोलिदेखि छलफल, विभिन्न स्थानमा २५ वटा समूहले विमर्श गर्ने

मंगलबार, पुष १३ २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  आठौँ महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि भोलिदेखि छलफल हुने भएको छ । भोली दिनभर छलफल हुने र पर्सि बुधवार समूहको निष्कर्ष सुनाउने कार्यतालिका छ ।  

यसकालागि माओवादीले २५ वटा समूह बनाएको छ । प्रदेश र जनवर्गीय सङ्गठनहरूको छुटाछुटै समूह बनाएको माओवादी केन्द्रले जनाएको छ । छलफल विभिन्न स्थानमा हुने भएको छ । पार्टी कार्यालयमा स्थान नपुग्ने भएपछि माओवादीले   प्रज्ञा भवनको हल, पार्टी कार्यालय र पार्टी प्यालेसमा समेत छलफल गर्ने भएको छ । 

त्यस्तै
माओवादी केन्द्रको केन्द्रीय कमिटीमा महिलाको प्रतिनिधित्व ३५ प्रतिशत अनिवार्य गर्ने प्रस्ताव गरिएको छ । यसैगरी दलितको १५ प्रतिशत, मुस्लिमको ५ प्रतिशत प्रतिनिधित्व गर्ने व्यवस्था पार्टीको विधानमा प्रस्ताव गरिएको छ ।

यस्तै, सबै समूहमा ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ । केन्द्रीय कमिटीले १० प्रतिशत मनोनीत गर्ने प्रस्ताव गरिएको छ । पदाधिकारी र सबै तहका कमिटीहरूमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, अध्यक्ष पुष्पकमल दाहालले  पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव राख्नु भएको छ। महाधिवेशनको बन्दसत्रमा वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै उहाले पार्टीलाई उत्पादनसँग जोड्ने र पार्टीका नेता कार्यकर्ताले अनिवार्य शारीरिक श्रम गर्नुपर्ने प्रस्ताव गर्नु भएको हो ।

पार्टीका हरेक नेता कार्यकर्ताले वर्षमा कम्तीमा १५ दिन शारीरिक श्रम गर्नुपर्ने प्रचण्डको प्रस्ताव छ । यसको रेकर्ड पार्टी समितिले राख्ने र माथिल्लो समितिमा पठाउने उहाको  प्रस्ताव छ ।

माओवादीले नेतृत्व जितेको स्थानीय तहमा ५० युवालाई कृषि काममा लगाउने पनि प्रस्ताव छ । त्यस्तै माओवादीले नेतृत्व नजितेको तर संगठन मजबुत भएको स्थानीय तहमा पनि ५० युवालाई कृषि काममा लगाउने दाहालको प्रस्तावमा उल्लेख छ ।