बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

को बन्लान् प्रचण्डका ‘डिफ्याक्टो’?

आइतबार, पुष ११ २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आइतबारबाट सुरु भएको छ। नयाँ नेतृत्व चयनका निम्ति हुने महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पुनः नेतृत्वमा निर्विकल्प निर्विरोध कायम गर्ने भएको छ।

अन्य पदका लागि भने प्रतिस्पर्धा हुने लगभग निश्चित छ। खासगरी महासचिव पदका निम्ति भने भिडन्त हुन सक्ने सम्भावना छ। जो महासचिव निर्वाचित हुनेछन् त्यहि प्रचण्डका ‘डिफ्याक्टो’ कायम हुने बताइन्छ।

महासचिवका लागि जनार्दन शर्मा प्रभाकर, बर्षमान पुन र पम्फा भुसाल भिड्ने तयारीमा छन्। तीन जना मध्य एक जना महासचिव हुने र उक्त पद नै आगामी नेतृत्व र प्रचण्डको उत्तराधिकारीका रुपमा स्थापित हुने बताइएको छ।

शर्मा र पुन प्रचण्डका दुई लाईनका उत्तराधिकारी हुन् भने भुसाल मोहन वैद्य समूहबाट रामबहादुर थापा बादलसँगै माओवादी केन्द्रमा फर्किएकी थिइन्।

‘भुसाललाई उत्तराधिकारीका रुपमा प्रचण्डले मान्ने सम्भावना छैन। शर्मा र पुनमध्य एक जना महासचिव हुने चर्चा छ। तर, तिनलाई पनि डिफ्याक्टोका रुपमा प्रचण्डको अधिकार हुन्छ या हुँदैन भन्ने यकिन गर्न कठिन छ’, माओवादी स्रोतले भन्यो।

माओवादी महाधिवेशनको खास चर्चा नै प्रचण्डका उत्तराधिकारी को हुन्छन् भन्ने कोणमा छ। प्रचण्डले यस विषयमा अहिले नै आधिकारिक रुपमा केही खुलाएका छैनन्।

यो महाधिवेशनले नीति र विचारसहितको कार्यदिशा तय गरी चुनावमा जाने लक्ष्य लिने माओवादी नेताहरु बताउँछन्।