काठमाडौं। भोलीदेखि राजधानीमा सुरु हुने नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनले नेतृत्वको विषयमा स्पष्ट निर्णय गर्ने बताइएको छ। अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विकल्प भए पनि त्यसबाहेकका पदका लागि घम्साघम्सी हुने निश्चित बनिसकेको छ। तर, प्रचण्डको निर्देशन र चाहनाविपरित अन्य पदाधिकारी चयन हुने अवस्था पनि छैन।
बहुपदीय व्यवस्थामा जान लागेको माओवादीमा अहिले सबैभन्दा चर्चाको विषय बनेको छ, प्रचण्डका उत्तराधिकारी। यस विषयलाई जम्माजम्मी दुई नेताको नामलाई अहिले चर्चामा राखिएको छ। माओवादीका पूर्व सैन्य कमान्डरहरू जनार्दन शर्मा र बर्षमान पुन।
शर्मा र पुन मध्ये को उत्तराधिकारी बन्नेछन् भन्ने चर्चा सर्वत्र छ। तर, प्रचण्डले केही महिना अघि मात्र अखिल क्रान्तिकारीको सम्मेलनका क्रममा भनेका थिए– म अहिले उत्तराधिकारी घोषणा गर्दिन। म टाउको काट्ने लिनप्याओको विषय तोक्नेछैन।
शर्मा र पुनको चर्चामा प्रचण्डले कसलाई उत्तराधिकारीका रुपमा सार्लान्? के उनैले भनेजस्तो लिनप्याओ तयार पार्नेछन् त? खुमलटार स्रोतले भन्यो,‘अहिले पार्टीलाई बलियो बनाउनका लागि आगामी दुई कार्यकालसम्म प्रचण्ड आफैं नेतृत्वमा रहने स्पष्ट खाका तयार भएको छ। १० बर्ष सक्रिय राजनीति भनेकै दुई वटा सम्मेलन वा महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ भन्ने लाग्दैन।’
प्रचण्डको राजनीतिक उडान कुन हिसाबले हुन्छ भन्ने नै धेरैले यकिन गर्न सकेका छैनन्। शर्मा र पुनबीच उत्तराधिकारीको संघर्ष भए पनि प्रचण्डको निरन्तरताको क्रमभंगताको राजनीतिक प्रयोगमा उनीहरुको स्थान तत्काल किटान हुन मुस्किल रहेको बताइएको छ।
माओवादी जनयुद्धबाट शान्ति प्रक्रियामा आउनासाथ प्रचण्डले पार्टीमा उपाध्यक्ष पद दिएर नारायणकाजी श्रेष्ठलाई ल्याएका थिए। श्रेष्ठ अहिले पनि माओवादी केन्द्रको बरियतामा दोस्रो नेता मानिन्छन्। ‘उत्तराधिकारी तोक्दिन भन्नुको अर्थ प्रचण्डसँग विकल्पहरू खुला हुन्छन्’, स्रोतले भन्यो,‘पार्टीलाई हाँक्न सक्ने नेताका रुपमा नेत्रविक्रम चन्द विप्लवका विषयमा पनि खुमलटार सकारात्मक बनिरहेको छ।’