बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादी सम्मेलनः शर्मा र पुनको शक्ति संघर्षबीच महराको मौका, विप्लव आए यस्तो छ प्रचण्ड तयारी

बिहिबार, पुष ८ २०७८

काठमाडौं। बहुपदीय प्रणालीलाई स्वीकार गरी राष्ट्रिय सम्मेलनमा केन्द्रित रहेको नेकपा माओवादी केन्द्रको अध्यक्षमा कुनै प्रतिस्पर्धा नहुने भए पनि महासचिव पदका लागि भने शक्ति संघर्ष हुने निश्चित भएको छ।

संगठन विभाग प्रमुखका रुपमा रहेका अर्थमन्त्री जनार्दन शर्मा र कार्यालय इञ्चार्ज बर्षमान पुनले महासचिवका लागि तयारी गरिरहेका छन्। उनीहरूको शक्ति संघर्षबीच महासचिवमा निवर्तमान सभामुख कृष्णबहादुर महराले मौका खोजीरहेका छन् भने प्रचण्डले विवाद भएको खण्डमा पदाधिकारी चयन नगर्ने तयारी गरेका छन्।

स्रोतका अनुसार काठमाडौंमा यसै साता हुने सम्मेलनले अध्यक्षमा प्रचण्डलाई कायम गरी पदाधिकारी चयनको अधिकार समेत दिन सक्ने बताइएको छ। ‘महासचिव पदका लागि विवाद देखिने निश्चित छ। त्यसो भयो भने अन्य पदमा पनि कोही मनोनित हुने अवस्था हुँदैन’, स्रोतले भन्यो।

पदाधिकारी चयन हुन नसकेको खण्डमा प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई एकीकरण प्रक्रियामा ल्याउने र महासचिवको जिम्मेवारी दिने आन्तरिक तयारी समेत भएको छ। खुमलटार स्रोतका अनुसार विप्लवसँग एकीकरणका निम्ति छलफल विभिन्न माध्यमबाट जारी राखिएको छ।

विप्लवलेचाहिँ तत्काल कार्यगत एकता गर्न सकिए पनि एकीकरण नै हुने सम्भावना कम रहेको प्रतिक्रिया दिएका थिए। ‘कुरा मिलेको र ठूलो शक्ति बन्ने सम्भावनालाई हेर्दा एकीकरण प्रक्रिया आरम्भ हुने लगभग स्पष्ट छ’, स्रोतले भन्यो।