काठमाडौं। सरकारी जग्गा व्यक्तिको नाममा पारेको बालुवाटारस्थित ललितानिवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले निक्कै अघिदेखि अनुसन्धान जारी राखेको छ। मन्त्रिपरिषदले नै उसलाई अधिकार दिए पनि हाइप्रोफाइल समेतको संलग्नता रहेको प्रकरणमा सीआईबीले मिहिन अनुसन्धान जारी राखेको थियो।
उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उक्त प्रकरणलाई अनुसन्धान गरी नेपाली कांग्रेसका पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छादारविरुद्ध त विशेष अदालतमा मुद्दा नै दायर गरेको थियो। गच्छादार अहिले धरौटीमा रिहा भएका छन्।
तर सीआईबीलेचाहिँ तल्लो तहबाट नै अनुसन्धान जारी राखेको थियो। उसले कसैलाई पक्राउ गरेको थिएन। एउटा पिल्लरको पूरा कामै ललितानिवास प्रकरणमाथि छानबिन गर्न खटिएको थियो। स्रोतले भन्यो,‘फाइलको थुप्रो छ। विविध व्यक्ति र हाइप्रोफाइलका पनि संलग्नताका विषयमा अझ अनुसन्धान जारी छ।’
यस प्रकरणमा सीआईबीले दुई जना बिचौलियालाई हालै मात्र पक्राउ गरी अनुसन्धान जारी राखेको छ। पहरो नै झार्नसक्ने लहरोका रुपमा दुई जना बिचौलामाथि प्रहरीको अनुसन्धान जारी रहेको हो।
डीआईजी सिंहले जिम्मेवारी लिएपछि सुवेदी दम्पत्ती समातिए
सीआईबीका अनुसार उक्त प्रकरणका मुख्य बिचौलिया समातिएका हुन्। रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई नियन्त्रणमा राखी सीआईबीले सोधपुछ गरिरहेको छ।
जिल्ला अदालत काठमाडौंले उनीहरूसँग अनुसन्धान गर्नका लागि ५ दिनको म्याद दिएको छ। सीआईबी प्रमुखका प्रहरी नायव महानिरिक्षक (डीआईजी) धीरजप्रताप सिंहले जिम्मेवारी लिएपछि सुवेदी दम्पत्ती पक्राउ गरिएको हो।
नक्कली मोही, साक्षी खडा गरेर कर्मचारीलाई झुक्याएर सरकारी जग्गा हडप्न भूमिका खेलेको देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो।
भूमाफिया र कर्मचारीको मिलेमतोमा बालुवाटारको १ सय १४ रोपनी जग्गा हिनामिना भएको भन्दै सीआईबीले मालपोत कार्यालयका कर्मचारी र नीतिगत निर्णय गर्ने अधिकारीहरुमाथि छानविन हुनुपर्ने भनी राय दिएको थियो।
सीआईबीले फौजदारी अभियोग अन्तगर्तको अनुसन्धानलाई तिव्रता दिएको हो।
पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा भूमाफियाहरुले बालुवाटारस्थित प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको निवाससँगै जोडिएको ललिता निवासको जग्गा तीन चरणमा अतिक्रमण गरेको उल्लेख छ।
सुवेदी दम्पत्ती पक्राउ प्रकरणले अन्य कस–कसको संलग्नता रहेको भन्ने विषयमा सीआईबीले निचोड निकाल्नेछ।