काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनले सबैभन्दा बढी घाटा रामचन्द्र पौडेललाई गरेको छ। कांग्रेस राजनीतिको मूल खम्बाका रुपमा रहेका उनी सभापतिमा लड्न पाएनन् भने अब एउटा धारको नेतृत्वबाट पनि पन्छाइएका छन्।
उनका केही अधुरा सपना पनि पूरा नहुने पक्कापक्की भइसकेको छ। खासगरी कांग्रेस सभापति बन्ने र प्रधानमन्त्रीको कुर्सीमा एक पटक पुग्ने उनको सपना अधुरै रहने महाधिवेशनको निचोड देखिएको छ। सभापतिमा शेरबहादुर देउवा दोहोरिए पनि पार्टी नेतृत्वका अन्य रोलमा युवा पुस्ताको जोडदार उदय यसका कारण हुन्।
१७ पटकसम्म प्रधानमन्त्रीका लागि तत्कालिन संविधान सभामा दौडिएर पराजय भएका उनको ओरालो यात्रा त दोस्रो संविधानसभाको चुनावपछि भएको संसदीय दलको निर्वाचनमा पराजयबाट सुरु भएको थियो। संसदीय दलमा देउवासँग पराजित भएका उनी कांग्रेसको १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको रणनीतिका कारण सभापतिमा पराजित भए। उनको प्रधानमन्त्री र सभापति बन्ने सपना अधुरो भइरहेको बेला संसदीय यात्रामा पनि तनहुँमा ब्रेक लाग्यो। आफ्नै क्षेत्रमा गोविन्दराज जोशी पक्षको पेलान रहेका बेला कम्युनिस्ट गठबन्धनले उनलाई पराजित गरिदियो, उक्त स्थानमा कृष्णकुमार (किसान) श्रेष्ठले जीत हासिल गरे।
१४औं महाधिवेशनमा सभापतिको तयारी गरिरहेका पनि कोइराला परिवारको दाबीले उनलाई ब्याक गरायो। शेखर कोइराला एउटा बलियो प्यानलसहित मैदानमा उत्रिए। कोइराला पराजित भए पनि कांग्रेसको नयाँ टिमको लिडरका रुपमा उदाए, उनी संस्थापनइतरका नेता हुँदा पौडेलले त्यो अंश पनि नपाउने अवस्था आयो। ‘बृद्धलाई सम्मान भनिएको थियो तर त्यसमा असहमति जनाएर अघि बढ्दा पौडेल विस्तारै किनारा लागेका हुन्’, कांग्रेसका एक नेता भन्छन्,‘अब संस्थापनइतरको नेता त शेखर कोइराला भए। आगामी महाधिवेशनमा बुढाहरुको स्थान नै नहुने अवस्था आयो।’
पौडेलले सभापतिको दौडमा नजित्ने अवस्था देखेपछि आँशु झारेर छाडेका थिए। कांग्रेस राजनीतिमा त्यो आँशु उनको अधुरो सपनाहरूको साक्षी नै बनेको स्पष्ट देखिएको छ।