काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रदेश पदाधिकारीमा युवा नेताको दाबी हुन थालेको छ। प्रदेश १ कमिटीले ७ पुसमा पदाधिकारी चयन गर्दैछ।
अध्यक्ष पदका लागि विभिन्न जिल्लाका नेताले दाबी गरिरहेका बेला अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष, प्रदेश सदस्यमा हालै निर्वाचित मदन चुडालले कोषाध्यक्षमा दाबी गरेका छन्।
पार्टीमा योगदान गरेका अग्रज युवाले नेतृत्वमा दाबी गरे पनि कोषाध्यक्षका लागि आफू तयार रहेकाले दाबी गरेको उनी बताउन्छन्। चुडाल भन्छन्,‘हेर्दा अन्य भूमिकाभन्दा महत्वपूर्ण ठान्दैनन् तर कोषाध्यक्ष चुनौतिपूर्ण पद रहेका कारणले त्यसमा म योगदान गर्न चहान्छु।’
पदाधिकारीमा रहेर माओवादीको संगठनात्मक गतिलाई प्रभावकारी बनाउने रणनीतिमा चुडाल रहेका छन्। उनी लामो समयदेखि अन्यले पार्टीभित्र खेमा परिवर्तन तथा आउजाउ गरे पनि मूलधारमा कटिबद्ध भएर खटिएका युवा नेता हुन्।
‘अब पार्टीको प्रदेशको संगठन कस्तो बनाउने भन्नेमा हामीले ध्यान दिनुपर्छ। केन्द्रसँग समन्वयदेखि संगठन सुदृढिकरणका विषयमा पनि सक्रिय हुनुपर्छ। त्यसैले पनि म कोषाध्यक्षका लागि दाबी गरिरहेको छु।’
पार्टीको सामाजिक, राजनीति र संगठनात्मक सँगै आर्थिक पक्ष पनि पारदर्शी हुनुपर्ने उनी ठान्छन्।