शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेतृत्वमा कांग्रेसले समातेको परम्परागत लयः सम्भावित महामन्त्री को–को हुन्?

बिहिबार, पुष १ २०७८

काठमाडौं। नेतृत्व परिवर्तनको डंका छाडे पनि दोस्रो राउन्डमा प्रकाशमान सिंह र विमलेन्द्र निधिले शेरबहादुर देउवालाई सभापतिमा बिजयी गराउने भूमिका निभाएपछि नेपाली कांग्रेस परम्परागत लयमा फर्किएको छ।

कतिपयले देउवाको जीतलाई अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनसँग पनि जोडेर हेरेका छन्। उनको बिजयले नै सरकार कायम रहने र उक्त सम्झौता सदनमा जाने भएकाले सिंह र निधिलाई दबाब दिएको बताइन्छ। यद्यपि, यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

तर नेतृत्व परिवर्तनको एजेन्डामा अडान राखेका सिंह र निधिले देउवालाई सहयोग गर्दा आम रुपमा आलोचना खेप्नु परेको छ। कतिपयले उनीहरूको निर्णयलाई गणेशमान सिंहको त्याग र महेन्द्रनारायण निधिको समर्पणमा दाग लगाएको पनि टिप्पणी गरेका छन्।

यद्यपि उपसभापतिको नतिजा भने मिश्रित आएको छ। उपसभापतिमा देउवा प्यानलका पूर्णबहादुर खड्का र डा. शेखर कोइराला प्यानलका धनराज गुरुङ निर्वाचित भएका छन्। गुरुङ दुई मतका आधारमा बिजयकुमार गच्छादारलाई जित्न सफल भई उपसभापतिमा निर्वाचित भए।

महामन्त्रीमा के होला?

दुई जना निर्वाचित गराउनुपर्ने महामन्त्रीको दौडमा देउवा प्यानलका डा. प्रकाशशरण महत र प्रदीप पौडेल, कोइराला प्यानलका डा. मिनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान सिंह प्यानलका प्रवक्ता विश्वप्रकाश शर्मालाई हेरिएको छ।

यी मध्य महामन्त्रीमा पुस्तान्तरण गराउनका लागि युवा पुस्ताका थापा र शर्मा निर्वाचित हुन्छन् या हुँदैनन् भन्ने चासो प्रतिनिधिमा पनि ज्यादा रहेको पाइन्छ। मतदान स्थल र मतगणना क्षेत्रमा महामन्त्रीमा थापा र शर्मालाई ल्याउनुपर्ने नाराबाजी भएका कारण पनि प्रतिनिधिले त्यस्तो विवेक प्रयोग गरे या गरेनन् भन्नेचाहिँ मूल प्रश्न बनेको छ।

स्रोतले भन्यो,‘सभापति र उपसभापतिको परिणाम हेर्दा यसमा पनि मिश्रित नतिजा आउन सक्ने सम्भावना रहेको छ। तर, परिवर्तन नै चाहेको हो भने थापा र शर्मा निर्वाचित हुन सक्ने सम्भावना देखिन्छ।’

त्यसो त शर्मालाई झापाको केन्द्रमा पुग्न नदिने रणनीतिअनुसार कृष्ण सिटौलाले पौडेललाई देउवाको प्यानलमा राखेको चर्चा छ। तर, प्रतिनिधिले सिटौलाको उक्त रणनीतिलाई पूरा गर्लान् या नगर्लान् भन्ने चासोचाहिँ छ। विहीबार बेलुकासम्म महामन्त्रीको नतिजा आइसक्छ।