काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ । क्यानको बोर्ड बैठकले नियमित कप्तान ज्ञानेन्द्र मल्लको स्थानमा सन्दीपलाई नियुक्त गरेको हो । सन्दिप नेपालकै सबैभन्दा कान्छो क्रिकेट कप्तान बनेका छन् ।
यसअघि पारस खड्का २२ वर्षको उमेरका कप्तान बनेका थिए । सन्दिप २१ वर्ष मात्र पुगेका छन् । आफूभन्दा पाका धेरै खेलाडी रहेको राष्ट्रिय टिमलाई उनले नेतृत्व गर्नुपर्ने छ ।
क्यानले नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको हो ।
क्यानको अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरेबमोजिम खेलाडी आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले उनीहरूलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाकमा सुरुआती छ महिना सहभागी नगराउने निर्णयसमेत लिएको छ ।
ज्ञानेन्द्र सन् २०१९ मा नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए । खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यावहारिक नभएको भन्दै ज्ञानेन्द्र मल्लसहित केही वरिष्ठ खेलाडीको गुनासो थियो । सोही विषयलाई लिएर क्यानले खेलाडीसँग स्पष्टीकरणसमेत सोधेको थियो ।
खेलाडीको स्पष्टीकरण चित्तबुझ्दो नभएको र खेलाडीले आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले खेलाडीलाई कारबाही गरेको हो ।