काठमाडौं । पार्टी र संसदीय राजनीतिका कुटिल खेलाडी मानिएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरवहादुर देउवाले फेरि एक पटक पार्टीको बागडोर आफ्नै कब्जामा लिएका छन् ।
संस्थापन इतरलाई तितर बितर पारेर पार्टी शक्तिलाई आफु मातहतमा ल्याइपुर्याएका छन् । पछिल्लो पटक उनै देउवा फेरि सभापतिमा निर्वाचित भएका हुन् ।
पहिलो चरणको निर्वाचनमा बहुमत ल्याउन ८२ मत नपुगेपछि सभापतिका अन्य प्रत्यासीहरूको साथ लिएर देउवाले दोस्रो चरणमा चुनाव जितेका हुन् ।
१३औँ महाधिवेशनबाट पहिलोपटक पार्टी सभापति बनेका देउवा पुनः दोहोरिएका छन् । २००३ सालमा डडेलधुराको असिग्राममा जन्मिएका उनी २०२० साल देखि नै कांग्रेसको सक्रिय राजनीतिमा समाहित भएका थिए । २०२८ सालदेखि लगातार ८ वर्षसम्म उनी नेपाल विद्यार्थी संघको दोस्रो सभापति बनेका थिए ।
पञ्चायत कालमा देउवाले पटक–पटक गरी १० वर्ष १० महिनासम्म जेल जीवन बिताएका छन् । संसदीय राजनीतिमा अपराजित देउवा २०४८ सालदेखि नै डडेलधुराबाट सांसद निर्वाचित हुँदै आएका छन् । त्यसपछि २०५१, २०५६, २०६४, २०७० र २०७४ सालमा भएका सबै निर्वाचनमा उनी डडेलधुराबाट निरन्तर विजयी हुदै आएका छन् ।
संसदीय राजनीतिमा उनी विजयी हुदै आए पनि पार्टीका निर्वाचनमा भने धेरै पटक पराजित भएका छन् । २०५६ चैतमा संसदीय दलको निर्वाचनमा देउवा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धामा उत्रिएका थिए । त्यसबेला उनी पराजित भए ।
२०५७ मा पोखरामा भएको पार्टीको १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग देउवाले सभापतिमा प्रतिस्पर्धा गरे र पराजय ब्यहोरे ।
२०६६ साल असारमा दलको निर्वाचनमा नेता रामचन्द्र पौडेलसँग पनि देउवा पराजित भएका थिए । नेपालमा बहुदलीय व्यवस्था आइसकेपछि मात्रै मुलधारको राजनीतिमा उनको उदय भएको हो ।
नेपालमा २०४६ सालको आन्दोलनमा जनता सडकमा ओर्लिएका बेला देउवा बेलायतमा अध्ययन गरिरहेका थिए । देशमा बहुदल आइसकेपछि २०४७ सालमा उनी नेपाल फर्किए । २०४८ सालमा पहिलो पटक डडेलधुराबाट संसदीय चुनाव जितेर काठमार्डौ आउदा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनलाई गृहमन्त्री बनाए ।
उनको सरकारमा इन्ट्री नै गृहमन्त्रीबाट भएको हो । गृहमन्त्री भएको ४ वर्षपछि नै उनी २०५२ भदौमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यस यता उनी अहिले पाँचौ पटक प्रधानमन्त्रीको कुर्सीमा छन् ।
पछिल्लो तीन दशक यता देउवा सधै कुनै न कुनै रुपमा सत्ता र शक्तिको केन्द्रमा छन् । देउवामाथि पार्टी फुटाएको आरोप पनि लाग्ने गरेको छ ।
०६४ सालमा उनले फेरि कांग्रेससँग एकीकरण गरे ।
उनै देउवा अहिले कांग्रेस भित्र जबरजस्त रुपमा उठेको नेतृत्व परिवर्तनको एजेण्डालाई पराजित गर्दै अर्को ४ वर्षका लागि पार्टी नेतृत्वमा पुगेका छन् ।